उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।



Published Date:2020-08-26

धादिङ  आवाज 

१० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ । निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो । केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष घननाथ महतो केरा बिक्री नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो समयमा बजारको निकै ठूलो समस्या छ ।” पच्चीस देखि ३० प्रतिशत केरा खेतमै पारेर झर्दै गरेको र कतिपय चराको आहार बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “केरा बोटमै पाकेको छ, चराले आधा खाँदै छाड्दै गरेको देख्न सकिन्छ ।” नेपालमा लकडाउन शुरुसँगै केरा पाकेको थियो । बीचमा लकडाउन खुलेसँगै केही सहज भए पनि फेरि अवस्था झन् जटिल बनेको उहाँले बताउनुभयो । “यस वर्ष केराको उत्पादन राम्रो थियो”, उहाँले भन्नुभयो, “बजार र मूल्य पाइएन, करोडौँको क्षति भयो ।” उहाँले निषेधाज्ञामा पनि भारतीय केरा नेपाली बजारमा आएको तर नेपाली केराले बजार नपाएको गुनासो गर्नुभयो । यो समयमा व्यपारीले सहजै केरा लैजान नमानेको र लगिहाले पनि मूल्य निकै कम पाउने गरको महतोको भनाइ छ । तीन तहका सरकारले छुट्टाछुट्टै निर्णय गर्दा झन् समस्या भएको उहाँले बताउनुभयो । “यहाँबाट केरा लगिए पनि जिल्ला र पालिकाहरुमा अवरोध गर्ने गरिएको छ, कतिपय अवस्थामा बाटोमै रोकिनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्ष मलको अभाव छ ।  केराका लागि मल अत्यावश्यक छ, यस्तै भयो भने अर्को वर्ष उत्पादन घट्छ । केरा व्यवसायी यज्ञ सुवेदीले निषेधाज्ञाले ग्राहक बजार आउन नपाएपछि केरा बिक्री हुन छाडेको बताउनुभयो । “लकडाउनभन्दा पनि निषेधाज्ञापछि झन् समस्या भएको छ”, उहाँले भन्नुभयो, “बिहान र बेलुकाको थोरै समयमा ग्राहक बजारसम्म जाने अवस्था छैन ।” केरा बिक्री नभएपछि आफैँ पसल–पसलमा खुद्रा बिक्री गर्दै हिँड्न बाध्य भएको उहाँले बताउनुभयो । “बारीमा केरा पाकेको छ, बिक्री नभएर चराले खाइरहेको छ, केही झरेर नष्ट भएको छ”, उहाँले भन्नुभयो । यस वर्ष समयमा नै पानी परेका कारण केराको उत्पादन राम्रो भएको उहाँले बताउनुभयो । उहाँले आफ्नो रु ५० लाखको केरा क्षति भएको बताउनुभयो । “मैले एक सिजनमा रु तीन करोडको केरा बेच्थेँ”, उहाँले भन्नुभयो “यस वर्ष रु दुई करोड पुग्न पनि धौधौ छ ।” सुवेदीले ७० बिघामा केराखेती गर्दै आउनुभएको छ । गत वर्ष रु ७० दर्जनसम्म बिक्री भएको केराको मूल्य यस वर्ष रु ५० भन्दामाथि पुग्न नसकेको उहाँले बताउनुभयो । जिल्लामा अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । महानगर फलफूल तथा तरकारी बजार नारायणगढका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले बजारमा फलफूलको बिक्री न्यून रहेको बताउनुहुन्छ । “प्रशासनले तीन घण्टाभन्दा बढी समय पसल खोल्न दिँदैन, ग्राहक आउने समय नै छैन”, उहाँले भन्नुभयो । ठेला र सडकपेटीमा व्यापार गर्नेलाई पनि प्रहरी र स्थानीयवासीले अवरोध गर्ने गरेको उहाँले बताउनुभयो । चितवनमा उत्पादन भएको केरा बाहिरी बजारमा निर्यात नभएपछि नारायणढको बजारमा थुप्रिएको धितालले बताउनुभयो । उहाँले चितवनमा भारतीय केरा नआएको भन्दै चितवनको केराले माग धान्न नसक्ने अवस्थामा मात्र ल्याउने गरिएको जिकिर गर्नुभयो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यस वर्ष चितवनमा केराको उत्पादन राम्रो भएको बताउनुभयो । उहाँले कोरोनाका कारण बजारीकरणमा समस्या भएको र किसानले गत वर्षझैँ मूल्य नपाएको बताउनुभयो । यस वर्ष मात्र जिल्लामा २०० बिघाभन्दा बढी क्षेत्रफलमा केराखेती विस्तार भएको छ । युवाहरुको आकर्षण पनि बढ्दो छ । चितवन केरा उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ । जिल्लामा तीन हजार २०० बिघामा केराखेती गरिएको छ । चितवनको रत्ननगर, कालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । हावाहुरीलगायतका कारणले हुने क्षतिको राज्यको अनुदानमा बीमा हुने भए पनि बजारीकरणबाट हुने नोक्सानी भने किसान आफैँले व्यहोर्नुपर्ने अवस्था छ । रासस

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]


  • गजुरी गाउँपालिकामा थप ७ दिन बन्दाबन्दी ,सबै गजुरीबासीलाइ पालाना गर्न आग्रह ।

    धादिङ आवाज , ९ भदौ , धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  गजुरी गाउँपालिका   गत सातादेखि लगाइएको बन्दाबन्दी   पुनः लब्याएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै बन्दाबन्दी एक साता थप गर्ने निर्णय गरेको जनाएको छ ।  गजुरी गाउँपािलकामा पनि जाेखिम कायम नै रहेकाेले  र  जिल्ला विपद् व्यवस्थापन समितिले पनि १५ […]