धादिङ । सदरमुकाम धादिङबेसीमा अवस्थित सहिद मेमोरियल अस्पताल मापदण्ड विपरित संचालनमा रहेको पाईएको छ ।
२०६४ सालमा १५ शैयाको अनुमति लिएर सुरु गरेको अस्पतालले २०८१ माघ अन्तिम साता तामझामसहित ५० शैयाको अस्पताल भनेर औपचारिक सेवा सुरु गरेपनि न्युनतम मापदण्ड पूरा नगरेको पाइएको छ ।
सरकारी अस्पतालको भन्दा राम्रो सेवा दिने भन्दै केही महिना अघिदेखि धादिङ अस्पतालको गेटैमा लगेर संचालन सुरु गरेको अस्पतालले एकातर्फ कुनै मापदण्ड पूरा गरेको छैन भने अर्कोतर्फ नवीकरण समेत गरेको छैन ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सक सहित २४ सै घण्टा अत्याधुनिक प्रविधिबाट सेवा दिने विज्ञापन गरी संचालन गरिरहेको छ । तर, अस्पतालमा चिकित्सक र उपकरण त छैन नै अस्सिजनको समेत जोरजाम छैन ।
नविकरणको लागि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको बताए पनि अस्पातालमा एक जना पनि चिकित्सक छैनन् ।५० शैयाको लागि २२ जना कर्मचारी रहेको बताएको अस्पतालमा एक जना हेल्थ असिस्टेन्ट मात्रै छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने नेतृत्वको अनुगमन टोली अनुगमनका लागि अस्पताल पुगेको थियो।
५० शैयाको अनुमति लिएको भनिएको अस्पतालको चार वर्षदेखि नविकरण समेत नभएको पाइएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिनुभयो ।
यता अस्पताल संचालक समेत रहनुभएका अस्पतालका प्रबन्ध निर्देशक दिपक रेग्मीले अनुगमनमा गएको टोलीलाई अस्पतालले सेवा नै सुरु नगरेको प्रतिकृया दिनुभयो ।
अस्पतालमा वार्डहरु संचालन नगरेको, इमर्जेन्सीमा आकस्मिक उपचार जस्तो मात्रै गराइरहेको र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको मेडिकल चिकित्सकको व्यवस्था नगरिएको उहाँको भनाई थियो ।
सर्वसाधारण र सेवा लिन पुगेका सेवाग्राहीहरुले छर्लङ्ग देखेका कुरालाई छोप्दै अस्पताल निर्देशकको ब्रिफिङ सुन्नुभएका स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक किरण कुमार नगरकोटीले पनि अहिले अस्पताल संचालनमा नरहेको स्पष्टीकरण दिनुभयो ।
मापदण्ड विपरित संचालन भइरहेको देखिदेखि पनि अस्पताल अनुगमन गर्न गएको टोली अस्पताल सञ्चालनमा नरहेको भन्दै चुपचाप फर्किएको छ ।
अस्पतालको प्रसासनमा पुग्दा अस्पतालले सामान्य ईमर्जेन्सी सेवा मात्र दिईरहेको र नविकरणका लागि प्रकृयामा रहेको भन्दै संचालक समेत रहेका प्रबन्ध निर्देशक दिपक रेग्मीले बनावटी जवाफ सुनेर अनुगमन टोली फर्किएको थियो ।
अनुगमन टोली पुग्दा पनि अस्पतालको शैयामा बिरामी उपचार गराईरहेका थिए । तर, ‘अस्पताल संचालनमा नै छैन, इमर्जेन्सी सेवा मात्रै दिइरहेका हौं’ भन्ने अस्पतालका प्रबन्ध निर्देशक रेग्मीको ब्रिफिङ सुनेका अनुगमन टोलीले उपचारका लागि वेडमा सुतेको विरामी त देखेन नै अस्पतालको मुख्य प्रवेशद्धारमा रहेको फार्मेसी समेत नहेरी फर्किएको छ ।
अस्पताल अनुगमन सकेर निस्कनुभएका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले नविकरणको प्रकृयामा रहेको र सरसफाई मात्रै हेर्ने भएकोले केही नबोलेको प्रतिकृया दिनुभयो ।
कानुनी प्रकृया र मापदण्डको बारेमा हामी जानकार नभएको भन्दै उहाँले यो कुरा संबन्धित निकायहरुमा जानकारी गराउने बताउनुभयो ।
केहि महिना अघि मात्र क्याम्पस चोकमा सारिएको सहिद मेमोरियल अस्पताल सरकारी अस्पतालको ५० मिटरको दुरीमा रहेको छ । जवकी एक अस्पतालबाट यति नजिकको दुरीमा अर्काे अस्पताल संचालन गर्न पाईदैन भने संचालन गर्नुपूर्व नजिकको अस्पतालसँग सहमति लिनुपर्ने प्रावधान छ ।
सरकारीमा राम्रो उपचार हुँदैन भन्दै गलत प्रचार गर्ने गरेको पनि पाइएको छ ।
सरकारी अस्पतालमा भर्ना भएका कतिपय बिरामीलाई समेत मिलेमत्तोमा सहिद मेमोरियलमा पठाउने गरेको तथ्य पनि भेटिएको छ ।
धादिङ अस्पतालमा सेवारत चिकित्सकहरुलाई नै नयाँ सेयर दिएर सहिद मेमोरियलले प्रलोभनमा पारेको र धादिङ अस्पतालमा उपचार गर्न पुगेका बिरामीलाई सरकारी अस्पतालमा राम्रो उपचार नहुने भ्रम फैलाउँदै सेवाग्राहीसँग महंगो शुल्क अशुल्ने गरेको पाइएको छ ।
धादिङ अस्पतालमा कार्यरत चिकित्सकहरुले नै लगानी गरेको कारण कर्मचारीको विवरणमा डाक्टर नदेखिएपनि सरकारी अस्पतालका चिकित्सकहरु लुकि लुकि आएर बिरामी हेर्ने गरेका छन् ।
धादिङ जिल्ला नै स्थायी घर भई हाल धादिङ अस्पतालमा सेवारत डा. राम रिजाल, डा. मधुकर दाहाल, डा. दिनेश रेग्मी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा कार्यरत प्रकाश सापकोटाको सहिद मेमोरियलमा सेयर छ ।
लगानीकर्ताहरु काँग्रेस, एमाले र माओवादि निकटका कर्मचारी, पत्रकार तथा व्यवसायी भएकाले पनि सत्ताको प्रयोग गरेर अनुगमनमा आएकाहरुलाई प्रभावित पारेर औपचारिकता पुरा गरेर फर्काउने गरेको आरोप लगाइरहेका छन् ।
सत्ता र पैसाको बलमा मध्य बजारमा अवैध अस्पताल सञ्चालन हुँदा समेत सरोकारवाला निकाय मौन बस्नु दुःखद् भएको जानकारहरुले प्रतिकृया दिएका छन् ।