२०८२ जेष्ठ १९, सोमबार

माफ गर्नुस्, मलाई इको-एन्जाइटी भएको छ !

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १६, शुक्रबार
माफ गर्नुस्, मलाई इको-एन्जाइटी भएको छ !
  • राजु झल्लु प्रसाद

नेपाल सरकारले एउटा राम्रो काम गर्यो । प्राय: गर्दैन । तर यसपाला गयो, यसैले केहि लेख्न मन भयो ।

तर, अझै पनि मलाई ‘मेरो सरकारले’ भन्ने आँट चाहिँ आएको छैन किनभने उसको नीति तथा कार्यक्रमले ‘मलाई समेटेको’ महसुस हुनै छाडेको छ । भएकै छैन भन्दा पनि हुन्छ ।  सरकार प्रायश: राष्ट्रपतिको, प्रधानमन्त्रीको, मन्त्रीमण्डलको, सांसदको, राजनैतिक दलको एवं विचौलियाहरूकै ‘वर्णशंकर सरकार’ भइरहेको छ। यस्तोमा म जस्ता एक मामुली लेखकले नेपाली नागरिकको हिसाबकिताबमा उसलाई ‘मेरो सरकार’ भन्ने आँट गर्न सक्दैन। किन पनि भन्दा, राष्ट्रपतिदेखि मन्त्रीसम्म र दलालदेखि दलसम्म मिलेर बनेको यस ‘वर्णशंकर सत्ता संयन्त्र’ले नागरिकभन्दा गठबन्धन, आम जनताभन्दा पार्टीगत अडान, र दीर्घरुपमा भन्दा कमिसनखोरीको दैनिक व्यवस्थापनमै आफूलाई चलायमान बनाइरहेको छ ।

खैर, नेपाल सरकार (सरकार)ले एउटा स्वागतयोग्य प्रयास गर्यो, त्यो थियो- सगरमाथा संवाद । श्रम कूटनीति, पर्यटन कूटनीति, ऊर्जा कूटनीतिजस्ता पर्याप्त आधार भएका क्षेत्रहरू हुँदाहुँदै पनि यस ‘वर्णशंकर सरकार’ले हालै ‘जलवायु कूटनीति’लाई प्राथमिकतामा राख्दै विशेष तैयारीका साथ ‘सगरमाथा संवाद’को पहिलो संस्करण सम्पन्न गर्यो, जसलाई उसले बहुसरोकारवाला (मल्टी–स्टेकहोल्डर) फोरम किटान समेत गर्यो। यसक्रममा, तीन दिनसम्म सोल्टी होटेलमा घगडान संवाद भए।

संवादको तेस्रो दिन, नेपाल आएकामध्ये करिब २४ विदेशी पाहुनालाई लिएर केही स्वदेशीहरूले माउन्टेन फ्लाइट समेत गरे। पाहुनाहरूले आ-आफ्ना क्यामरामा सगरमाथा क्षेत्रमा पग्लिरहेको हिउँ, कालो हुँदै गएका हिमाल र फुट्ने जोखिममा रहेका हिमतालहरूलाई क्याप्चर पनि गरे। त्यसपछि हिमालयदेखि टापु राष्ट्रसम्मले सामना गरिरहेका जलवायु परिवर्तनको चुनौतीसँग जुध्न नेपाल सरकारले २५ बुँदे आह्वान पत्र पनि जारि गर्यो।

यसप्रकार, तीन दिने संवादसत्र पश्चात् एक आह्वानपत्रमार्फत यस सरकारले- ‘आफू कम मात्रै जिम्मेवार रहेको तर सबैभन्दा बढी असर भोग्नुपरेको तथा ‘सबै देशले कार्बन उत्सर्जन घटाउने लक्ष्य तय गर्नुपर्ने, विकासोन्मुख देशका लागि उचित, समावेशी र प्रमाणमा आधारित समाधान सुनिश्चित गर्दै जलवायु न्यायलाई जोड दिनुपर्ने’जस्ता मागहरू पनि राख्यो। “हामी कम जिम्मेवार छौँ तर बढी असर भोगिरहेका छौँ’ भन्न सक्नु चाहिँ नेपाल सरकारको मनपरेको कुरा थियो।

तर, वर्णशंकर सरकारले सगरमाथा संवाद’ लाई बहस र छलफलको राष्ट्रिय उत्सव बनाउन भने सकेन। कार्यक्रमको पूर्वतयारीमा दुईवटा मन्त्रालय, मन्त्रीहरू, सांसदहरू, विकास साझेदार संस्थाहरू र कर्मचारीहरू जुधाजुध गरेकै कारण ‘जलवायु कुटनीति’मा सशक्त र प्रभावकारी उपस्थिति देखिएन। आमन्त्रित अतिथिहरू तथा उच्च पदस्थ व्यक्तिहरू आइदिएनन्।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ भन्ने नारासहित सम्पन्न सगरमाथा संवाद (पहिलो शृंखला) ले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने कोशिस गर्‍यो। विश्वमै नेपालको प्रतीक बनेको ‘सगरमाथा हिमाल’लाई संवादको नाममा जोड्दै, नेपालले भोगिरहेको जलवायु अन्यायको आवाज विश्वसामु पुर्‍याउने प्रयास गर्यो । यस अर्थमा सगरमाथा संवादले कम्तीमा आधारशिविरसम्म त आफूलाई पुर्‍यायो भन्ने मान्न सकिन्छ। तर प्रश्न उठ्छ, के यो संवादबाट नेपालले ‘जलवायु कूटनीति’मार्फत कुनै ठोस उपलब्धि हासिल गर्न सक्यो? कि कार्यक्रम केवल ‘हिउँ, हिमाल, पानी’ भन्ने शब्दहरूको दोहोरीमा सीमित भयो? के साच्चै नेपालले जलवायु संकटले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायबाट सहयोग, क्षतिपूर्ति वा जलवायु न्याय प्राप्त गर्ने दिशामा गम्भीर प्रगति गर्न सक्यो? वा फेरि, ‘एभरेस्ट डाइलग’ नभनी ‘सगरमाथा संवाद’ भन्यौँ, सगरमाथाको नाममा ब्रान्डिङ गर्यौँ भन्ने सतही सन्तुष्टिमा सीमित भयौँ? यी प्रश्नहरू गम्भीर बहसको माग गर्छन्।

सगरमाथा संवादले प्रत्यक्ष नगद फाइदाभन्दा पनि दीर्घकालीन, बहुपक्षीय हित र कूटनीतिक संभावनाहरूको थालनी  गर्न सक्यो कि सकेन, त्यो मूल कुरा हो। त्यसैले यसको प्रभाव, प्रयोजन र भविष्यबारे निरन्तर छलफल आवश्यक छ, र हुनुपर्छ पनि। किनभने वातावरणको मुद्दा समाधान होइन, केवल चर्चा बन्नु आफैँमा झन् ठुलो संकट हो। अर्को जलवायु अन्याय हो। यसैले, सरकारले नीतिगत स्तरमा, संस्थाहरूले कार्यान्वयन स्तरमा, र हामी नागरिकहरूले व्यवहारिक स्तरमा भूमिका खेलिरहेका छ कि छैनौं, यो अझै पनि मूलभूत प्रश्न नै बनिरहेको छ। यस संवादपछि यस प्रश्न अझ जिम्दो बनेको छ।

पंक्तिकार अब यहीँबाट, सगरमाथा संवादका सम्बन्धमा यति मात्रै कहेर ‘वातावरण’, ‘जलवायु’,  ‘कार्बन क्रेडिट’, ‘ग्रीन टेक्नोलोजी’, ‘जलवायु अनुकूलन’, ‘जलवायु न्युनिकरण’, ‘उत्सर्जन व्यापार प्रणाली’, ‘जलवायु वित्त’ लगायतका अनेकन् विषयहरूमा भइरहेका गोष्ठीहरू, सम्मेलनहरू, सेमिनार, डकुमेन्ट्री, रिपोर्टिङ, विज्ञापन, नारा, गीत–संगीतहरूका बारेमा बाँकी कथनी अघि सार्न चाहन्छ। किनकि, यस संवाद कार्यक्रममा उपस्थित भइरहँदा र आफूलाई पर्यालेखक एवं वातावरण पत्रकारको रूपमा परिचय दिएर वर्षभर विभिन्न मन्चमा चाक बिसाइरहँदा यी विभिन्न विषयमा केहि लेखूँ, केहि बोलूँ भन्ने खसखस भइरहेको थियो। ठ्याक्कै यहिँ बेला ‘वातावरण दिवस (जुन ५) पनि आइपुगेको छ।  सगरमाथा संवादका बारेमा यति लेखिसकेपछि, मेरा बाँकी खसखस मेटौं क्यारे भन्ने लाग्यो।

***

काठमाडौंमा सगरमाथा संवाद, हुम्लामा हिमताल विष्फोटन

जलवायु संकट र वातावरणीय असमानता आजका समयका सबैभन्दा गहिरा र जटिल चुनौतीहरू हुन्। तर मुख्य कुरा यहाँ हो कि, यी संकटहरू सबैलाई समान रूपले प्रभावित गर्दैनन्। वातावरणीय असमानताले विशेषगरी गरीब, सीमान्तकृत र जोखिममा परेका समुदायहरूलाई झनै कमजोर बनाइरहेको छ। एकातिर, अन्तर्राष्ट्रिय गोष्ठीहरू, सरकारी नीति र वैज्ञानिक अनुसन्धानमार्फत समाधान खोज्ने प्रयत्न भइरहेका छन्; तर अर्कातिर, ती प्रयासहरू अझै पनि जनसामान्यमासम्म पुग्ने मार्गमै अल्झिएका छन्। यसैले यी विषयहरूलाई गोष्ठीका पर्खालभित्र सीमित नराखी साहित्यको मूल प्रवाहमा ल्याउन जरुरि भइसकेको छ। गोष्ठीको भाषालाई भावना बनाउने र तथ्याङ्कलाई कथा बनाउने समय घर्किन लागिसकेको छ। यसकारण, साहित्यमार्फत जलवायु परिवर्तनले आनीबानी, संस्कृति, विश्वास र जीवनशैलीमा पारेको असरलाई दर्शाउन बहुत जरुरि भइसकेको छ।

हालसालैको घटनाबाट हाल-ए-बेहाल सुरु गरौँ। एउटा कथाले वा नाटकले हालैको हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिल गाउँको हिमबाढीले दिएको पीडा झन् जीवन्त र प्रभावशाली ढङ्गमा उजागर गर्न सक्छ, जुन कुनै तथ्याङ्कले मात्रै बोल्न सक्दैन। तथ्यांकहरू चिसा हुन्छन्, तर तिल गाउँको त्यो त्रासदी त तातो आँसु र हाहाकारको तापमा बगेको छ।

विज्ञानले तापक्रम मापन गर्छ, जलप्रवाह गणना गर्छ, तर साहित्यले सो हिमआँधीपछिको मौनतामा लुकेको त्यो भित्री कम्पनलाई समेट्न सक्दछ। एउटा चित्रले जति भन्छ, एउटा कविताले जति समेट्छ वा एउटा आँखा देखेर फर्किएको पात्रले जति भन्छ, त्यति कुनै चार्ट, ग्राफ वा रिपोर्टले भन्न सक्दैन। त्यसैले, वातावरणका विषयमा अब साहित्य मौन रहन सक्दैन। अब कविताले वातावरणको रोदन बोल्नुपर्छ, कथाले विस्थापितहरूको मौनता लेख्नुपर्छ, नाटकले संकटको कथा मञ्चन गर्नुपर्छ। साहित्य अब प्रकृतिको  सौन्दर्यपूर्ण वर्णन मात्रै रहेन, यो जलवायु न्यायका लागि प्रतिरोधको आवाज पनि बन्नुपर्छ।

***

अब मूल कथनमा फर्कियौं। 

सन् २०२५ को विश्व वातावरण दिवसको ध्यान ‘प्लास्टिक प्रदूषण अन्त्यमा’ रहेको छ। पिउने पानीदेखि खानासम्म, किसानका खेतदेखि डम्पिङ साइटहसम्म, मरुभूमि र समुन्द्री बरफदेखि सगरमाथाको चुचुरोसम्म प्लास्टिक पुगेको छ। एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग घटाउनु,प्लास्टिकलाई लामो समय टिक्ने र पुनःप्रयोग गर्न सक्ने गरी डिजाइन गर्नु, प्लास्टिकको वैकल्पिक सामग्री खोज्नु जस्ता उद्देश्यसहित सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिकहरूले नवीनतम उपायहरू अवलम्बन गर्न नरम आग्रहसहित वैश्विक रूपमा यो वर्षको वातावरण दिवस मनाइरहिएको छ।

शोधकर्ताहरूका अनुसार, सन् १९५० यताबाट मानवजातिले ९.२ अर्ब टन प्लास्टिक उत्पादन गरेको छ, जसमा करिब ७ अर्ब टन फोहरमा परिणत भइसकेको छ। उनीहरूका अनुसार, सन् २००० देखि २०१९ सम्ममा विश्वमा प्लास्टिक उत्पादन दोब्बर भएको छ। र, यहिँ अनुपात रहेमा, सन् २०६० सम्ममा  प्लास्टिक फोहोर प्रतिवर्ष एक अर्ब टन पुग्न सक्छ, जुन अहिलेको लगभग तीन गुणा हो। र, यी उत्पादित प्लाष्टिकको दिक्कलाग्दो कुरा के छ भने, यी पुनः प्रयोग हुन् सकिरहेका छैनन् र फोहोर व्यवस्थापन प्रणालीमा ठूलो दबाव दिइरहेका छन्। समुन्द्री सूक्ष्म जीव-  फाइटोप्लाङ्कटनको वृद्धि रोकेर समुन्द्री खाद्य शृंखलाको आधार भताभुंग पार्नेदेखि लिएर प्लास्टिक स-सानो टुक्रामा टुक्रिएर माइक्रोप्लास्टिक र न्यानोप्लास्टिकमा परिणत भई मानवशरीर- यहाँसम्मकि कलेजो, अण्डकोष र स्तनसम्म पुगिसकेको छ।

यो सबमा चिन्ताको विषय के छ भने, धेरैजसो प्लास्टिक सामग्री पुन: प्रयोग गर्न मिल्ने गरि डिजाइन गरिएका छैनन् र गरिएमा पनि एकदुई पटक मात्र रिसाइकल गर्न मिल्ने छन्। अर्को चिन्ता- प्लास्टिक उत्पादनको वेग रिसाइकल प्रणालीको क्षमताभन्दा तीव्र गतिमा छ। र, नेपालजस्तो एक दशकअघि मात्रै ‘खुला दिसामुक्त क्षेत्र’ घोषित मुलकसँग प्रभावकारी रिसाइकल पूर्वाधार छैन। र, पूर्वाधार निर्माण गर्ने नीति छैन र नीतिनिर्मताहरू ‘भिजिट भिषामा हजुर भिजिट भिषामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा’ छन्।

***

पर्यावरणवाद: भावना  कि फेसन ?

वातावरण दिवसबारे यतिविधि किचकिच गरिसकेपछि अब ‘वातावरण’ शब्दकै वरपर रहेर थप किचकिच गर्न मन लागेर आएको छ। किनकि वातावरण विषय वरपर रहेर भएका र गरिएका कार्यक्रम, भाषण, उत्सव र देखावटी क्रियाकलापहरूबाट मलाई व्यक्तिगत रूपमा टाउको दुख्न थालेको छ । झर्को लाग्न थालेको छ। यतिसम्म कि, बाटो-कुबाटोमा पिच्च पिच्च पराग थुक्नेहरू आशिका तामाङसँग के डराउथे र? जति म कतिखेर प्लास्टिकको सस्तो ब्यानरमुनि हरियो सन्देश पढ्नुपर्ला भनेर आतंकित हुन्छु। यसैले आज यहाँ किचकिच नगरी भएकै छैन। बोले तो- देखावटी चिन्तन र सजावटी पर्यावरणवादतर्फ औँलो नठड्याई भएकै छैन।

एकप्रकारले मलाई वातावरणीय संकट वा जलवायु परिवर्तनको नाममा भइरहेका कामहरू (जस्तै: गलत परियोजनाहरू, असारको झमझम पानीमा  गरिने वृक्षारोपणहरू, हरियालीको नाममा भइरहेको वन विनाशहरू, फेक समाधानहरू, greenwashing, आदि) देखेर एकप्रकारले चिन्ता, असन्तोष, निराशा वा आक्रोश उत्पन्न भइरहेको छ। उसो त, वातावरणीय समाचार सुन्दा वा देख्दा  चिन्तित हुने, पृथ्वीको भविष्यप्रति डर वा निराशाको भाव उत्पन्न हुने वा भनौँ, आफूले पर्यावरण बचाउन केही गर्न नसकिरहेको ग्लानीबोध जस्तो हुने भइरहेकै थियो। पुनः प्रयोग र पुनः प्रयोगयोग्य वस्तुको प्रयोग गर्ने बानी विकास गर्न खोजिरहँदा बानी बन्न नसक्नु, समाधानमूलक पत्रकारिता गर्दा पनि जलवायु परिवर्तन प्रभावित क्षेत्रका बासिन्दाको अनुहार याद भइरहनु जस्ता घटनाहरू भइरहेकै हुन्। यस्तोमा,  जलवायु परिवर्तनको समाधानका नाममा पटक-पटक दोहोरिरहने गल्तीहरू, नीति–निर्माणको असफलता वा तिनका नाटकपूर्ण क्रियाकलापहरू देख्दा त झन् टाउको चर्किएर आउन थालेको छ।

एकप्रकारको पर्यावरणीय छटपटी भन्दा हुन्छ कि यसलाई। एक इको- एन्जायटी। यो umbrella शब्द हो, जसमा वातावरणीय संकट र त्यससँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक क्रियाकलापहरूप्रतिको चिन्ता, डर, तनाव समेटिन्छ। यसमा जलवायु परिवर्तनका नाममा भइरहेको शोषण र पर्यावरणीय समस्या र जलवायु संकटका कारण उत्पन्न हुने मानसिक तनाव, डर र असहायताको भाव सबै अट्छ कि भन्ने म मान्दछु। मेरो यो दुवै अवस्था इको-एन्जायटीकै लक्षण हो कि भन्ने लाग्दैछ। तर, मेरो यो इको–एन्जायटी : चिन्ता कि चेतना ? यो अहिल्यै भन्न सक्दिनँ। तर, कताकता मान्दछु- यो एन्जायटी हरियो रंगको पछाडि लुकेको कालो नियत चिर्ने चेतना हो कि !

खैर जे होस्, पृथ्वीको वातावरण अब यस्तो विषय भएको छ, जुन हरेक मानिसको हृदयमै गाँसिएको छ तर, त्यो गसाइ कसैले टुप्पो च्यातेर झुन्ड्याइदिएको टाई जस्तो देखिन्छ। अचेल यो विषय ‘संवेदना’ होइन, ‘संवाद’ र ‘संयोजन’को राष्ट्रिय र अन्तर्राष्ट्रिय मेलामञ्च बनिसकेको छ, जसमा एकातिर ‘पृथ्वी बचाऊ, प्लास्टिक हटाऊ’ भन्दै नाराबाजी हुन्छ, अर्कोतिर- नारा लेखिएको प्लास्टिकको ब्यानर कार्यक्रम सकिनासाथ् फुकालेर नदी किनारमा मिल्काइन्छ। रै पनि, दिनहुँ लेखिन्छ, बोलिन्छ, बहस हुन्छ, सम्मेलनको ‘कन्भेन्शन सेट’ बुक हुन्छ, जसरी इन्टरनेटको डाटा सकिएपछि फेरि प्याकेज रिचार्ज गर्नुपर्ने हुन्छ, ठ्याक्कै उस्तै! दुरुस्तै!  यस्तो लाग्छ, ‘जय हरियाली! गो ग्रिन!’ भन्नेहरू आफैँ डोजर चढेर पृथ्वीभन्दा वेगमा घुमिरहेका छन्।

हरियो टाइ लगाउनेहरू, इको-फ्रेन्डली स्लोगन झुन्ड्याउनेहरूको नाटक पनि देखिसक्नुको छैन। ब्रेकफास्टमा ३ वटा डिस्पोजेबल प्लेट र प्लास्टिकको चम्चा प्रयोग गर्ने यिनीहरूकै कारण मञ्चमा हरियाली छ तर, सभाहलबाहिरको नदीले  बगिरहेको छैन, घ्रिस्रीरहेको छ! फेरी, हामीले मान्दिनुपर्छ, दुई सय पृष्ठको- कोटेश्वरदेखि कलंकीसम्ममा पनि पढ्न नसकिने रिपोर्ट यिनीहरूको अमूल्य देन हो। खतरा हो, बबाल हो। अनि फेरी, फ्री वाइफाइसहितको यिनीहरूको ‘हरियो भाषण’ सुन्दिनैपर्छ। कता भाषण मात्रै ? यो त यिनीहरूको  रिसर्च पेपर हो। फिल्ड वर्क हो। जनउत्तरदायित्व हो।
बरै, हरियो भाषणको प्रदूषित शब्दहरू सुनीसक्नु छैन!
कठै, यिनीहरूको पाखण्ड–संवेदना र हरित विकासको  पुँजीकरण!

अरुका कुरा के गर्नु, आफ्नै कुरा गरौँ न। म आफैं पनि हिलो नभएको पोखरीको फोटो पोस्टाउदा इको–फिल्टर लगाउनेमा पर्छु, यो भन्न मलाई कुनै लाज छैन। म पनि इको पाखण्डी हूँ। An Eco-Hypocrisist. किन ? किनभन्दा- प्लास्टिकको गिलासमा ओर्गानिक जुस पिउनेमा म पनि पर्छु।  पाँच वटा ए.सी. चलेका सभाहालमा बसेर ‘कार्बन न्यूट्रल हाम्रो लक्ष्य हो’ भन्ने भाषण सुन्छु र, त्यसबारे समाचार लेखिरहेको छु। एक प्रणाली बनिसकेको छ यो। यो ‘हरियो अभिनय’मा मेरो दिनाचार्य बनिसकेको छ। (हरियो कुरा गर्नु बहुत सजिलो छ रे, तर हरियो बाँच्नु, बहुत कठिन रे भैया!)

म आफैं जब वातावरणका विषयमा लेख्छु, बोल्छु, सहभागिता जनाउँछु, अथवा अरूले पनि त्यसै गर्छन्/गरिरहेको देख्छु; तब लाग्छ, समस्याको समाधान निस्किन्छ होला। ‘वादे वादे जायते तत्वबोध’ भन्छन्। यतिका छलफल हुन्छन, केहि निचोड त निस्कनै पर्ने हो ?  तर छैन। कसले भन्छ, संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको औद्योगिकरण छैन ? हरित भाषण उद्योग धमाधाम खुलेको नदेख्ने ?

के ढाँट्नु ? काठमाडौंमै बसेर खतरा समचार  लेख्यो, कभरमा राख्नको लागि- गाउँको झरना र टाकुरोको फोटो नपाएर कति हत्तु/हैरान हुन्छ। मेरो यो ‘हरियो अभ्यास’लाई NGO/INGO/सरकारका परियोजनामा सार्वजनिक पारदर्शिताले भेट्नै सक्दैन। ‘फोटो खिच्ने परियोजनाकारहरू’ले मसँग अन्तर्वार्ता लिनुपर्ने हो।

यो पनि भनौँ न, वातावरण, जलवायु परिवर्तन, कार्बन क्रेडिट, ग्रीन फाइनान्स,  ग्रीन टेक्नोलोजी जस्ता बडेमानका अंग्रेजी शब्दहरू सहितको गोष्ठीको पर्चा, सेमिनारको शीर्षक, डकुमेन्ट्रीको स्क्रिप्ट, रिपोर्टिङको हेडलाइन, विज्ञापनको थांत लागेको छ मकहाँ । एउटा छापाखाना नै सुरु गरूँ गरूँ लाग्छ घरीघरि त। धरोधर्म, यी तमाम इको-ब्रोकरहरूको पर्चा जलाउन पनि सक्दिनँ, गाड्न पनि सक्दिनँ। यी त्यहिँ अघिको प्लास्टिक जस्ता पुन: प्रयोग गर्नै नमिल्ने खालका छन्।

यससम्बन्धमा जेजति भने पनि मूल कुरो के हो भने, वातावरण वैज्ञानिक विषय मात्र  नरही यसले सांस्कृतिक र सामाजिक रुप लिइसकेको छ। गीत–संगीत र नाटकहरूमा पनि अब हरियो सन्देशको बाहुल्य छ। मानौँ वातावरण आजको प्रमुख बहस हो, हरेक क्षण मन्चाधीस अतिथि हो। यसको स्वागत-सत्कारको कुनै कसर बाँकी राख्न  हुँदैन। यहाँसम्म पनि ठिकै छ तर, मेरो मन  अनेकन् प्रश्न गरिबस्छ- यसले के साँच्चै परिवर्तन ल्याइरहेको छ? कि परिवर्तनको नाममा हामी केवल परिधिमा घुमिरहेका छौँ? वातावरणको चर्चा जतिजति बढ्दो छ, समाधानभन्दा चुनौती झन् चुलिँदो देखिन थालेको छ। यिनै दोधारबीच अब नेपाली साहित्यले पनि प्रश्न गर्नुपर्ने समय आएको छ, के वातावरण केवल बहसको ब्रान्ड वा फेसनको फ्रेम मात्र बन्ने हो? कि हामी यसलाई साँच्चिकै पृथ्वीको श्वास र भावी पुस्ताको अस्तित्वसँग गाँसिएको विषय मानेर त्यसअनुसारको संकल्प र व्यवहारमा  पनि जाँदै छौं?

***

हरियो ह्यासट्यागहरू र कालो माछापुच्छ्रे !

कुरा ठिक हो, विषय पनि ठिक हो। संवाद भइरहेको विषय पनि ठिक हो। वातावरण केवल एक वैज्ञानिक विमर्श होइन, पृथ्वीको अस्तित्व र मानव जीवनसँग चपक्कै टाँसीएको विषय हो। मानवीय गतिविधिको असन्तुलनका कारण आज पृथ्वीको वायुमण्डल डगमगाउन थालेको छ। जलवायु परिवर्तन, जैविक विविधताको विनाश, वायु र जल प्रदूषण, श्रोतहरूको सुक्खा, तापक्रमको निरन्तर वृद्धि,यी सबै केवल तथ्य मात्र होइनन्, हाम्रो दैनिक जीवनमा प्रत्यक्ष देखिने संकटका चिह्नहरू हुन्।

हामी नेपालीले यो सङ्कट केवल पढिरहेका छैनौं, देखिरहेका र छौँ। भोगिरहेका छौँ। कालो भएको माछापुच्छ्रे हिमाल हाम्रो आँखामै छ; उपत्यकाका नौवटा नदीहरूले बर्सेनि काठमाडौंको शहरी बस्ती डुबाइरहेका छन्। एकपछि अर्को फुटिरहेका हिमतालहरू, महिनावारी चक्रमा आएको अस्थिरता, आँखा र शरीरमै पसेको प्लास्टिकको सूक्ष्मकण, सामुदायिक वनहरूमा एक्कासि उठेको आगो, यी सबै हामीले प्रत्यक्ष अनुभव गरिरहेका छौँ।

भारी वर्षा, हिमपहिरो, भिरालो जमिनमा पहिरो, खडेरीको आवृत्ति र तीव्रता बढिरहेको छ। यो जेठ्मासमै देशभर मस्त झरी परिरहेको छ। कहिल्यै शीतलता र हरियालीको प्रतीक मानिएको काठमाडौं उपत्यका, जसको प्रशंसा भानुभक्तको रामायणदेखि पृथ्वीनारायण शाहको दिव्य उपदेश र चिनियाँ यात्रुहरूको यात्रा-स्मरणसम्म कहिँ छुटेको छैन, त्यहि कान्तिपुरी नगरीको हपक्क गर्मीले टाउको दुखाएर बसीसक्नु छैन। अरु के कुरा गन्रु, गाउँघरमा पहिले भैसी आहाल बस्ने पोखरीहरूमा अहिले सारौँले पौडी खेल्न समेत सक्दैन। त्यस्ता पोखरीमा पुग्दा खुट्टामा हिलोसम्म लाग्दैन। चरनक्षेत्रको अभाव तीव्र हुँदैछ, पशुपालन असहज बन्दैछ, र नयाँ-नयाँ रोगले पशुधनलाई आक्रान्त बनाइरहेको छ। यसको एउटा भुक्तभोगी म आफैँ हो, पर्वतीय क्षेत्र (धादिङ)मा जीवनयापन कठिन बन्दै गएपछि मेरा छिमेकीहरू मानिसहरू तराई र शहरी क्षेत्रतिर बसाइँ सरिरहेका छन्, जसले सामाजिक र आर्थिक समस्याहरूलाई थप जटिल बनाइदिएको छ। यो एक मामुली बसाइसराइ मात्रै होइन, यो त सांस्कृतिक विस्थापन हो।  सामुदायिक संरचनाको विघटन हो, सामाजिक सम्बन्धमा ‘ध्वार्र ध्वार्र’ हो। सिङ्गो मुलुक नै कुम्लो–कुटुरो बोकेर पुर्खाको थातथलो त्याग्नु सानो कुरा होइन, यसको परिणाम भयंकर छ ।

यसैले त अब हाम्रा साहित्यले बोल्नुपर्छ- ‘यो केवल प्राकृतिक विपद्को परिणाम होइन, यो हाम्रो विकासको असन्तुलन र वातावरणप्रतिको उपेक्षाको दण्ड हो। तत्काल सच्चिएनौ भने यसले भविष्यमा अझ क्रूर रूप लिनेछ।’ तर, साहित्य पनि बोलिरहेको छैन।

यसैले त, क्या बोर । जतिजति वातावरण आजको सबैभन्दा ज्वलन्त बहसको केन्द्रमा पर्न थालेको छ, त्यतिनै यसले थिच्ने समस्याहरू झनझन गहिरिँदै गएका छन्। लेखाइ, बोलाइ, गोष्ठी, सम्मेलन, भेला, डकुमेन्ट्री, विज्ञापन, नारा र गीत–संगीत, सबैमा वातावरणलाई समेट्ने होड छ, तर समाधानको हिसाबले यो विषय लगातार उपेक्षित देखिन्छ।

कस्तो विडम्बना ! वातावरण अहिले हरेक कार्यक्रमको मंचमा ‘सम्माननीय अतिथि’ जस्तै गरिमापूर्वक राखिन्छ, तर अन्त्यमा उसलाई बुझ्ने होइन, सजाउने वस्तुजस्तै व्यवहार गरिन्छ। मानौँ, हामी उसलाई बोलाउँछौँ, जयजयकार गर्छौँ, अनि अन्त्यमा त्यही वातावरण नास गर्ने प्लास्टिकको हरियो बोतलले ट्वाङ्ग हानेर बिदा गरिदिन्छौँ।

***

थम्बनेल मिल्यो, तर पोखरी सुक्यो !

‘जलवायु परिवर्तन’, ‘कार्बन क्रेडिट’, ‘ग्रीन टेक्नोलोजी’ जस्ता शब्दले नपुगेर ‘नेट–जिरो’, ‘सस्टेनेबिलिटी’ जस्ता शब्दहरू चलनमा आएका छन्। साहित्यकारहरूले भन्दा बेसी वातावरणविद, अध्ययन संस्था र वकालतकर्ताहरूले बेसी नयाँ नयाँ शब्दको आविष्कार  गरेर शब्दकोषलाई भुडी बोकाइरहेका छन्। हामी साहित्यकारहरूलाई यतिखेर, यहाँनेर, लाज हुनुपर्ने हो । ग्लानि हुनुपर्ने हो । अलिकता लाज, घिन भन्ने त् हुनुपर्ने हो हामीसँग ? हाम्रो काम एआइले होइन, यिनीहरूले खोसिरहेका छन् । तर कोही बोल्ने होइन । नचाहिने गलफती, गुटबन्दी र तुकबन्दीमा नेपाली साहित्यकारलाई कसले उछिन्न सक्ने तर, चाहिने कुरा बोल्दै नबोल्ने?

वातावरणविदले नयाँ नयाँ शब्द आविष्कार गरेर,  ग्राफ बनाइसकेर, बजेट जोहो गरिभ्याएर, परियोजना ल्याईसक्दा पनि हामी भने, ‘हाम्रो हिमाल राम्रो, हाम्रो नदी पवित्र, हाम्रो जंगल हरियो, हाम्रो देश स्वर्ग, हामी देवगण, हामी ऋषि सन्तान’ आदि आदि उपमानै हराइबसेका छौँ। म त् भन्छु, एक झमट- साहित्यकारहरूले वातावरणविदहरूसँग ‘दारु पिउनुपर्छ र मस्त मातेर गाली बक्नुपर्छ।’ (साहित्यकारहरू दारु नपिई गाली बक्न सक्दैनन् नि त् ।)

सिधासिधा भन्दिए ल, साहित्यले ‘उपमान’ मात्र होइन, उपाय पनि दिनुपर्छ। यस्ता नानाभाँती शब्दहरूले जीवनका आधारभूत संकटको बयान गर्दैनन्, जबसम्म तिनलाई कुनै संवेदनाको भाषामा अनुवाद गर्न सकिँदैन। त्यो काम साहित्यको पनि हो। तर साहित्य? हामी त, साहित्यइतर वा साहित्यका विषय भनेर किटानी जाहेर गर्दैमा ठिक्क छौं। भूपी शेरचन र हरिभक्त कटुवालमध्ये कसले बढी जाँड खाएँ भनेर घ्याम्पो गनेर बसिरहेका छौं। शंकर लामिछाने र पारिजातबारेको चियोचर्चो र कानेखुसी झैँ सकेकै छैनौं।  यी पनि आवश्यक होलान्, सबको आफ्नो सान्दर्भिकता छ।  साहित्यले पुनर्लेखन र पुनसंसोधन खोज्छ तर, नवीन बिम्ब, नयाँ विषयहरू र जनसामान्यको जीवनको सामयिक हाहाकारलाई बहिष्कार गर्नु भनेको साहित्यप्रतिको गद्दारी हो।

साहित्य वाणी हो, तर त्यो सुनिने मात्र होइन, सुन्न बाध्य पार्ने वाणी हुनुपर्छ। अब पनि हामीले नबोल्ने हो भने, यी चल्तीका शब्दहरू र विषयहरूमाथि AI ले स्क्यान गरेर, Activist ले पोडियममा चढेर र NGO Project Proposal ले PDF बनाएर, ‘चप चप’ चपाएर निलिसकेपछि ‘ओहो, यिनीहरू त झ्वाम्मै पचाए नि, डलरेहरू खाइदिए, युरेहरूले बुत्याइदिए’ भन्दै केवल ला खोस्रिने,  डायरी (नोटप्याड)  निकाल्ने,   अनि ‘लघुताबोधसहितको संस्मरण’ लेखिबस्ने छौँ।

जस्तै:

  • “सन् २०२५ को जेठ, मौसम एकदमै पर्यावरणीय थियो… वातावरणले मलाई हेर्‍यो र मैले पनि पर्यावरणलाई हेरेँ… अनि हामी दुवै टनक्क टेन्सनमा पर्‍यौँ।…आदित्यादी ।”

यदि यस्तै भइरहेकामा साहित्य आवाज होइन, AI को टोनमा बोलेको ‘सञ्चालित संवेदना’ बन्नेछ । अनि फेरी, लेघ्रो तानेर ‘ओहो! एआइले त मेरी बाबै नि क्या खतरा कविता लेख्छ है।’ भनेर गाइगुइ गरेर कामै छैन । ‘मैले लेखेको जस्तै उसले पनि लेखेछ, नयाँ विषय नै छैन’ भन्दै ड्राफ्टमै थन्क्याउने काम गरिरहेका मसहितका तमामहरूलाई आग्रह छ, कृपया अब थोरै ‘फिल्ड वर्क’ गरौं। कुन थम्बनेल मिल्छ भन्नेभन्दा, कुन गाउँमा पोखरी सुक्यो, कुन डाँडो भासियो, कति खेत सरे। कुन खोलाले गाउँ बगायो, त्यो नियाल्न जाऊँ।

वातावरण विषयमा यदि साहित्य चुप रह्यो भने ChatGPT को टेम्प्लेटमा जति नै पटक “Generate again” थिचे पनि, जति नै गहिरा प्रोम्प्ट हाले पनि- हाम्रा भावी पुस्ताले ‘आजको वातावरणीय संवेदना’ भेट्न सक्ने छैनन्। ढलमा डुबिरहेको बागमतीको बिरक्तलाग्दो आवाज, आगोले रित्तिएको वनको शोकगीत, हिउँ पग्लिँदा असीम पीरले छटपटिरहेको हिमालको हृदय, र चराहरूको मायालाग्दो अनुहार, यी सबै अनुभूति उनीहरूले पढ्न सक्ने छैनन्। किनभने हामीले त्यो लेखेकै हुने छैनौँ। एआइले त्यो कहाँबाट खोजोस् र कसरी सुनाओस्? टेक्नोलोजी भविष्यको पूर्वानुमान त गर्न सक्छ, तर जीवनको पीडा, आत्माको रुवाइ, र जमिनसँग गाँसिएको भोक-पीडालाई महसुस गर्न सक्दैन।

उनीहरूले हाम्रो कथा, आँसु, गल्ती र चेतनाको दस्तावेज पाउने छैनन्, किनभने हामीले चुप्पी साँधेका छौँ। यसैले, यस चुप्पी हामीले भविष्यप्रति गरिरहेका सबैभन्दा ठूलो अन्याय हो, यो अपराधबोध आजै हामीमा जाग्न जरुरी छ। यसैले भनेको साहित्यले अनुभूति गुमाउनु हुँदैन। साहित्यले यदि अनुभूति गुमायो भने,  मानव सभ्यता केवल ‘डाटा’ बन्नेछ र यसो भएमा जीवन, नदी, वन, चराहरूको गीत, सब चुपचाप मेटिनेछ। त्यसैले साहित्य बोल्नै पर्छ, सक्रिय, साहसी र सचेत भएर।

हामीले यो मान्नैपर्छ, आज हिजो कालिदासले लेखेको जस्तो समृद्ध, पवित्र र जीवन्त प्राकृतिक विरासत हामीसँग छैन। तर, हामीले हिजोको प्रकृति जान्न सकेका छौं, किनभने कालिदासले त्यो लेखेका थिए। आज हामीसँग आज छिःछिः लाग्दो नदी, आगोले झोसिएको वन हराउँदै गएको मौसमको चक्र छ। यदि हामी यसलाई लेख्दैनौं भने, भोलिका पुस्ताले आजको प्रकृति कस्तो थियो भनेर कहाँबाट जानुन्?

एक सचेत लेखक, चित्रकार, संगीतकार वा वातावरणविदले आजको पृथ्वीलाई निहार्दा तुरुन्तै महसुस गर्छ- हाम्रो वरिपरि अब ‘कला वा सौन्दर्यको अभाव’ छ। यो केवल दृश्यको खिया होइन, यो मानव चेतनामा लागेको खिया हो। बौद्धिक संकटको एउटा गहिरो तह हो। म मान्दछु- हरेक  सिर्जनशील मानिसहरूको  अस्तित्वको आधार नै अनुभूति हो, तर, दुःखको कुरा के छ भने-यही क्षणमा हामी मौन छौं। र यो मौनताले पृथ्वीको भविष्यलाई झन् अँध्यारो बनाउनेछ। यसैले भनेको, यसप्रकार सिर्जनशीलताको मौनताले पृथ्वीको सौन्दर्य (पृथ्वीको भविष्य)  थप गुम्दै छ कि ? यो चिन्ता केवल वातावरणविदको होइन, सम्पूर्ण सिर्जनशील समुदायको हो। यसप्रकार मौन रहनु भनेको हामीले सिर्जना गर्न सक्ने आफ्नो अन्तिम सम्भावना पनि त्याग्नु हो।

अब समय आएको छ- प्रकृतिलाई शृंगार गर्ने होइन, जस्तो छ, त्यस्तै लेख्ने। हाम्रा हिमाल काला भएका छन्, कालै लेखौं। किन अझै पनि ‘हिमाच्छादित मुस्कान पस्किरहेका छन्’ भनेर झूटको सौन्दर्य पस्किरहने? हामी आफैलाई सिर्जनशील ठान्दछौं भने अब हामीलाई यति पाखण्डपूर्ण वाक्य लेख्ने अधिकार छैन। जस्तो पीडा छ, त्यही लेखौं! जसरी आगो बलेको छ, जसरी सिमसारहरू रित्तिएका छन्, जसरी पहाडका पोखरी हराएका छन्, जसरी डाँडापाखा भुत्लिएका छन्- त्यही लेखौं।

यदि हामी अझै पनि कालिदास बन्न चाहन्छौं भने पहिले यो पृथ्वीलाई कालिदासको समयजस्तो बनाऔं। तब लेखौंला नि ‘मेघदूत’ र ‘ऋतुसंहार’। नत्र, आजको जलेको पहाड देख्दा पनि ‘शीतल हरियाली’ लेख्नु अर्को पाखण्ड हो-संवेदनाको विरुद्ध गरिएको पाखण्ड। यस्ता लेखाइ अब सृजनात्मकता होइन, एउटा सुनियोजित असंवेदनशीलता हो। यस्तो बौद्धिक  सजावटले अब न  पृथ्वी बाँच्नेछ, न साहित्य।

***

प्रिय पर्या-साहित्यकारहरू, तपाइँहरूलाई मलाई इको-डिप्रेशनमा धकेल्दै हुनुहुन्छ यार !

नेपालमा हालसालै “पर्यासाहित्य” भन्ने शब्दले एकप्रकारको प्रतिष्ठा पाउन थालेको छ। कविता, कथा, निबन्ध, उपन्यास, सबैतिर ‘वन’, ‘पानी’, ‘हावा’, ‘पहिरो’, ‘वन्यजन्तु’जस्ता शब्दहरूको ‘थोपा सिचाई’ सुरु भएको छ र यसलाई पर्यासाहित्य भन्ने चलन बढेको छ। तर म  किटान गर्छु, यस्ता बहुसंख्यक रचनाहरू केवल भाषिक आवरण हुन्, चेतनशील हस्तक्षेप होइनन्।

‘प्रकृति प्रेम’ र ‘पर्यावरणीय चेतना’ बीचको भेद बुझ्न नसकेर हामी पर्यासाहित्यकारहरू ‘चरा’, ‘फूल’, ‘हरियाली’ को सौन्दर्यगानलाई नै पर्या-साहित्य भनीरहेका छौं। यसले पाठकलाई रमाइलो अनुभूति  त देला, तर यसले समाजमा पारिस्थितिक चेतना फैलाउने काम गर्दैन। यो शैली ‘प्रकृति सौन्दर्य’ को मात्रै लेखन हो, ‘पर्यावरणीय चेतना’ भएको साहित्य होइन।

मानव र प्रकृतिबीचको जटिल सम्बन्ध, अन्तरनिर्भरता, द्वन्द्व, शोषण र प्रतिरोधका कथाहरू कथित पर्यासाहित्यमा मैले भेट्न सकेको छैन। भूक्षय, सुख्खा, बाढी, डढेलो, र अनियमित मौसम चक्रको असर देखाउने साहित्य मैले नेपाली भाषामा पढ्न पाएको छैन। मानव-बाघ संघर्ष, लोपोन्मुख जातिहरूको संकट, सिकार र अवैध तस्करीका बारेमा पत्रकारिताको भाषा वा गैरआख्यान भेटिन्छन् तर, साहित्यमा यी विषय अझै समेटिएका छैनन्। औद्योगिक विकास र प्रदूषणले पार्ने प्रभावको सजीव चित्रण वा  जलविद्युत आयोजनाबाट विस्थापित भएका समुदायहरूको आवाज नेपाली पर्यासाहित्यको मूल अंश बनेकै छैन। आदिवासी, ग्रामीण जनताको पर्या-जागरणको मूल्यांकनसहितको स्थानीय ज्ञान, मौलिक बौद्धिक सम्पदाहरू कथित पर्यासाहित्यमा झनै देख्न मुस्किल छ। धेरै रचनाहरूले ‘प्रकृति’ लाई ‘पवित्र देवी’ का रूपमा पूजा गरिरहेका छन् तर उसको शोषण गर्ने संरचना (राजनीति, पुँजीवाद, विकास माफिया) को आलोचना गर्न हिच्किचाइरहेका छन्। जलवायु न्याय (climate justice), जैविक विविधता, दिगोपन, र पारिस्थितिक दर्शन जस्ता गहिरा मुद्दाहरूलाई छुन सक्ने गम्भीर लेखनको खडेरी छ।

पारिस्थितिक संकट भनेको एउटा सौन्दर्यशास्त्रीय प्रश्न होइन, यो अस्तित्वको प्रश्न हो। तर नेपाली पर्या-साहित्यले अहिले पनि आँसु बगाइरहेको छ र त्यो आँसुको कारण खोज्न त्यति इच्छुक छैन। वनको गीत गाइरहेको छ तर त्यो वन फड्याउने हातको विरोध गर्ने आँट गर्दैन।

फेरी, नेपालमा अझै पनि वन रोप्नुपर्छ भनेर पर्यासाहित्य लेख्नु, वास्तविकतादेखि पर जानु हो। नेपालमा करिब ३३ प्रतिशत वन भए पुग्नेमा करिब ५० प्रतिशत पुगिसकेको छ। गाउँघर जंगल भइसकेको छ, चितुवा आँगनमै आइसकेको छ। यस्तोमा ‘रुख रोपौं, वन नकाटौं’ भन्नु जरुरि छैन। बरु हाम्रो वनको स्वास्थ्यको चिन्ता गर्ने बेला आएको छ, वन व्यवस्थापन प्रणालीमाथि धावा बोल्ने बेला आएको छ। मानव–प्रकृति सन्तुलनको योजनाबद्ध व्यवस्थापनको बारेमा पर्यासाहित्यले बोल्नुपर्छ। अबको पर्यासाहित्य‘रुख रोपौं’ होइन, हाम्रो देशको कूल क्षेत्रफलकको आधा हिस्सा ओगटिसकेको जङ्गललाई कसरी सशक्त, सुरक्षित, र जनमैत्री बनाउने भन्नेतर्फ हुनुपर्छ।

यतिबेला हाम्रो पर्यासाहित्यले त, सिमेन्ट र जस्ताको निर्माणवादबाट काठतर्फ फर्किने आह्वानसहितको हुनुपर्छ। स्थानीय समुदायको स्वामित्व, सहकारी मोडेल, सामुदायिक वनको समावेशी स्वरुप के कस्तो बनाउने भन्नेतर्फ हुनुपर्छ। यो वनको क्रुआ मात्रै होइन, हरेक पर्यावरणीय विषयमा यसप्रकारमा पर्यासाहित्यिक बहस हुनुपर्दछ।

यसैले भएंको हामीकहाँ आजकलको पर्या-साहित्य एउटा ‘इको-एस्थेटिक’ उत्सवमा सीमित भइरहेको छ, त्यहाँ प्रतिरोध छैन, शोषणविरुद्धको एक शब्‍द छैन। प्रकृतिलाई ‘पवित्र देवी’ बनाएर स्तुतिगान गरिन्छ, तर त्यो देवीलाई बलात्कार गर्ने संरचना- राजनीतिक सिण्डिकेट, विकास माफिया, वातावरण मन्त्रालयको भद्दा असक्षमता, अन्तर्राष्ट्रिय ऋण प्रणाली, यी सबबारे गम्भीर आलोचना गर्ने साहित्य खोज्दा  ‘हातमा लाग्यो शून्य’ भइरहेको छ।

तसर्थ, फेरी पनि भन्छु- “पर्या-साहित्य” भनेर ट्याग झुन्ड्याइएका अधिकांश रचनाहरू वास्तवमै सतही ब्यानर मात्रै हुन्। पर्यावरणलाई सम्बोधन गर्छु भनेर बकाइदा ‘पर्याकथा’, ‘पर्याकविता’, ‘पर्यानिबन्ध’, ‘पर्यासाहित्य’, ‘पर्यागीत’, ‘पर्यापर्य’, ‘पर्याध्यान’… (र अब शायद ‘पर्याधुन’ पनि आउने होला!) भनेर लेखिएका साहित्य नै यसरी बरालिदा यसबाट सिर्जनात्मक र विचारशील पाठकमा मानसिक बेचैनी र घोर असन्तुष्टि पैदा भइरहेको छ। एक किसिमको ‘इको–एन्जायटी’को जन्म भइरहेको छ।

प्रिय पर्या-साहित्यकारहरू !

माफ गर्नुहोस्, तर मैले यति भन्नै पर्छ; तपाइँको पर्यासाहित्यले मलाई ‘इको–एन्जायटी’ मात्रै होइन, ‘इको-डिप्रेशन’मा पुर्याइरहेको छ। तपाईंहरू शब्द रोपिरहनुभएको छ, सोच होइन। तपाइँको ‘हरियो तुकबन्दी’ले ‘साहित्यिक पारिस्थितिकी’ मा ब्रह्माण्डीय असन्तुलन आउन थालेको छ यार!

कतै हरियाली देख्नासाथ कविता तपाइँ लेख्दिहाल्नुहुन्छ,
“रुख तिमी राम्रो, फूल तिमी प्यारो, पानी तिमी सधैं झरिरहेको…!”

ए साथी! त्यो झरिरहेको पानी त भर्खरैको तुवालो हो, त्यो वाष्पीकरण हो, त्यो जलचक्र हो, म बुझाउँ तपाइँलाई ? कक्षा ५ को विज्ञान’ सम्झाउन पर्‍या हो र ? बात गर्नुहुन्छ यार… !

भनेको मान्नुस न यार, “वन जोगाउनु भन्दा पहिले, तपाईंहरूको लेखनबाट पाठकलाई जोगाउनु जरुरी भइसक्यो। लेख्ने नै हो भने, त्यो पानी बाढी भएर बगेको छ कि, नाफाखोरको बोतलमा थुनिएको छ कि या सिँचाइ नपाएर माटो चर्किएको छ कि ? यस्ता कुरा लेखिदिनुस बिन्ति।

मुस्किलले यसो एउटा पदयात्रामा निस्किनु के भाथ्यो, फेसबुकमा लेख्दिहाल्नुभो:
“ओ झार तिमी माया हौ, मलिलो माटोको सम्झना हौ! म एक पर्यासाहित्यकार तिम्रो समीप पाएर खुसी छु।..”

भयो न हो, त्यो झार विदेश निकासी भइरहेको छ कि ? जडिबुटीजन्य झार हो कि ? या त्यसले वनमाराको काम गरिरहेको पो छ कि ? ‘बाली सखाप पार्ने’ प्रकारको पो हो कि ?

तपाइँको चिन्ता त्यता पो हुननुपर्ने त, कता ‘तिमि माया हौँ, आइ मिस यु झर जी’ भन्दै  भन्दै फेसबुक स्टाटस ठोक्न थाल्नुभएको हो यार ! तपाइँको यो पारा देखेर, अब चाहिँ मलाई तपाईंको चित्त दुख्ला कि भनेर लुकाइराखेको एउटा कुरा भन्नैपर्ने भयो- कविता लेख्नु अघि “बोटबिरुवाको आधारभूत अनुसन्धान” अनिवार्य गरौं कविज्यू।

नत्र के थाहा,  वन मन्त्रालयले सूचना निकाल्न सक्छ:
“यो कविता पढ्दा झारको प्रजातिमा भ्रम हुन सक्छ। पाठकलाई मानसिक असहजता वा जैविक भ्रम हुन सक्ने भएकाले कविता आफ्नै जोखिममा पढ्नुहोस्!”

सच्चिनुस यार बिन्ति !
होइन ‘इस ल्याछ’र ? तैंले भन्या मान्छु मुला’ भन्नुहुन्छ भने  कम्तिमा यस्तो पर्यासाहित्यिक-पूर्व चेतावनी त राख्ददिनुस् यार :

⚠️ सावधानी:
‘यो कविता लेख्दा कुनै वनजङ्गललाई क्षति पुगेको छैन, तर पाठकको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। कृपया ‘एको–एन्जायटी’ भएका पाठकहरूले डाक्टरको सल्लाहबिना पढ्न मनाही गरिएको छ।’

***

हरियालीको ब्रान्डिङ, संवेदनाको बुलिङ

कुरा लगभग सकिएकै हो तर, अझ केहि बचे झैं लागेर ।

‘वातावरण’ विषय वरपर रहेर, जति पनि गोष्ठी, सम्मेलन, मिडिया रिपोर्ट, सेमिनार, स्टिकर, पोष्टर, जिंगलहरू निर्मित भइरहेका छन्, र यसले रोकिने कुनै संकेत छैन। यति धेरै ‘हलचल’ भएको छ कि, कहिलेकाहीँ लाग्छ, वातावरण अब फेसनको वस्तु बनिरहेको छ। फेसन राम्रो कुरा हो, तर फेसनबाट  परिवर्तनतिर उन्मुख हुने समय आइसकेको छ। नत्र, वातावरणको नाममा गाइने गीतहरू, बनाइने भिडियोहरू, लेखिने रिपोर्टहरू केवल ‘ध्वनि प्रदूषण’ बनिन सक्ने खतरा छ।

COP सम्मेलनहरू, ग्रेटा थनबर्गको आन्दोलन, र Our Planet जस्ता डकुमेन्ट्रीहरूले जलवायु परिवर्तनको सन्देश हरेक मुलुक, समाज र घरदैलोसम्म पुर्याइसकेका छन्, यसमा कुनै शंका छैन। सञ्चार माध्यमहरूले जलवायु विषयलाई निरन्तर प्राथमिकता दिएपछि संस्थाहरू, कम्पनीहरू र व्यक्तिहरूले ‘सस्टेनेबिलिटी’, ‘नेट-जीरो’, ‘ग्रीन लिभिङ’ जस्ता शब्दहरू आफ्नो छविको श्रृंगार बनाएका छन्। जलवायु परिवर्तनबारे अनुसन्धान, पत्रकारिता र नवप्रवर्तन (innovation) को क्षेत्रमा अनुदानका अवसर बढिरहेका छन्, जसले धेरै युवा र अनुसन्धानकर्मीहरूलाई आकर्षित गरिरहेको छ। तर जलवायु परिवर्तन अब केवल वैज्ञानिक वा नीतिगत विषय मात्र रहेन, यो भावनात्मक र सांस्कृतिक मुद्दा पनि बन्दै गएको छ।

इको–एन्जाइटी (Eco-anxiety) भन्ने नयाँ मानसिक अवस्थाले धेरैलाई छोइरहेको छ, कहिलेकाहीं मलाई पनि लाग्छ, म निरन्तर यही चिन्ता (चिन्तन ?) भित्र छु। र, म यहाँ अन्त्यतिर यहि विषय वरपर रहेर केहि कुरा राख्छु । उसो त सुरुदेखि नै इको–एन्जाइटीकै कारण मैले यतिविधि वाकेको हूँ। अन्टसन्ट बोकेको हूँ। भला मनुवाहरू, गुस्ताकी माफ होस् !

फेरी पनि दोहोराएँ, जलवायु परिवर्तन ‘फेसन’ वा ‘ट्रेन्ड’ को रूपमा प्रस्तुत हुने क्रम तीव्र बन्दै छ। ‘क्लाइमेट चेन्ज’ अहिले गफ गर्ने, क्लिक पाउने, ब्रान्डिङ चम्काउने एक सुविधाजनक शब्द  बनिसकेको छ । शहरी समाज र विशेष गरी आर्थिकरूपले सक्षम वर्गमा जलवायु सचेतना एक प्रकारको उपभोग संस्कृतिको अङ्गजस्तै देखिन थालेको छ- बाँसको बोतल, स्टिलको स्ट्र, ‘गिल्ट–फ्री’ उत्पादनको प्रयोगजस्ता अभ्यासहरू ट्रेन्ड बनेका छन्। यस्ता सतही अभ्यासले जलवायु संकटको वास्तविक पीडितहरूको आवाज ओझेलमा पार्न थालेका छन्। सँगसँगै, जलवायु परिवर्तनलाई साँचो परिवर्तनभन्दा बढी एक किसिमको ‘सजावटी अभियान’ बनाउने खतरा पनि बढेको छ।

किनभने, यी ‘सजावटी अभियान’ले पीँधमा रहेका मानिसहरूविरुद्ध व्यंग्य गरिरहेको मलाई प्रत्यक्ष अनुभूत भएको छ। बेलायती व्यंग्यकार टेरी प्राचेटले ‘पन्च डाउन’ भन्ने धारणार्फत एउटा गतिलो कुरा भनेका छन्, जुन यहाँ उल्लेख गर्नु प्रासंगिक हुन्छ। प्राचेट भन्छन्, ‘व्यंग्य भनेको शक्तिमा रहेकाहरूलाई चिढ्याउन प्रयोग गरिनुपर्छ। जो पहिल्यैदेखि व्यवस्थाद्वारा अपहेलित छ, उसमाथि व्यंग्य गर्नु भनेको व्यंग्य होइन, बुलिङ हो ।’ र, यी सोसल मिडिया, युट्युब र ब्लगहरूमा लोकप्रिय बनेका धेरै सामग्रीहरू, जसले ‘हरियो वन जोगाऔँ’, ‘जलवायु परिवर्तन रोकौं’ बारम्बार भनिरहेका छन्, हैसट्याग सहित आइरहेका छन्, यसले जलवायु अन्यायमा परेकामाथि आदिवासी, सिमान्तकृत, दलित, महिला, लैंगिक अल्पसंख्याकमाथि ‘बुलिङ’ गरिरहेको छ। यस्ता पोस्टर, हैसट्याग, नाराबाट गाइएको हरियालीको गीतले वास्तवमा पीँधमा रहेका पीडितहरूमाथि व्यंग्य गरिरहेको छ। ‘#SaveForest’, ‘#StopClimateChange’, ‘#NetZero’ हास्यास्पद त होइनन् तर भद्दा बुलिङझैं लाग्न थालेका छन्, किनभने तिनको प्रभाव केवल ब्रान्डिङ र लाइक कलेक्सनमा सीमित भइरहेको छ।

अझ भन्नुपर्दा, ती नेताहरू, त्यस्ता कम्पनिहरू वा संस्थाहरू, जसले ‘हरियोलाई’ आफ्नो ब्रान्डिङको हतियार बनाएका छन् वा, ती व्यापारीहरू- जो ‘इको-फ्रेन्ड्ली’, ‘ग्रीन प्रडक्ट’ लेखेर आफ्ना उत्पादन बेचिरहेका छन्, तिनीहरू आफैं प्रदूषणको श्रृंखलामा समावेश छन्, जसकारण हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिल गाउँका वासिन्दाले आपत व्यहोर्न परिरहेको छ। यति भन्न केको आनाकानी, पश्चिमी मुलुकहरूबाट प्रवाहित अनुदान र परियोजनाले जलवायु विषयलाई संस्थागत बनाएको भए पनि, त्यसको गहिराइमा प्रवेश गर्ने प्रयत्न प्रायः कमजोर देखिन्छ। वैश्विक स्तरमा भन्नुपर्दा, आफू कम मात्रै जिम्मेवार रहेको तर सबैभन्दा बढी असर भोग्नुपरेको नेपालको अमेरिका, जापान जस्ता मुलुकले निरन्तर बुलिङ गरिरहेका छन् ।

सिधासिधा भनौं- यी सारा ‘हरियाली अभियान’हरूका चम्किला पोस्टर, ह्यासट्याग, र ‘इको-फ्रेन्ड्ली’ नामधारी उत्पादनहरूको सिंगारको भित्रपट्टि बुलिङकै एक सुगठित संरचना लुकेको छ। जलवायु संकटमा प्रत्यक्ष परेका समुदायहरूमाथि दया होइन, एक किसिमको अदृश्य अपमान बर्सिरहेको छ। यसैले भनेको, अब यस्तो ‘ब्रान्डेड सहानुभूति’लाई चिर्न साहित्यले कलम चलाउनैपर्छ, आँखा झिमिक्याएर ‘लाइक’ गर्ने र ‘फिल्टर्ड फोटो’मा हरियाली देखाउने काम कृपया बन्द गरौं।

यो सतही सजावट र ट्रेन्डको पछाडि, जलवायु परिवर्तनको विषयले विश्वव्यापी ध्यान त पाएको छ, तर त्यो ध्यान गहिरो र ईमानदार प्रतिवद्धता होइन, एक ‘ट्रेन्डी’ ब्रान्डिङको रूपमा सीमित हुँदै गएको छ किनभने, यो चम्किलो सजावट र सतही ट्रेन्डको पछाडि जलवायु परिवर्तनले पाएको ध्यान साँचो संवेदनाबाट होइन; डलर, डिजाइन र डाटा ट्रेन्ड बाट सञ्चालित छ। अनि यहाँ दोष डलरको मात्रै होइन- हामीले यस विषयप्रति देखाएको अनदेखा, आलस्य र चुप्पी पनि उत्तिकै जिम्मेवार छ। अनि यही कुराले मलाई- हजुर, मलाई- इको–एन्जाइटी भएको हो!

अनि तपाईंलाई ? तपाईंलाई छैन?

अस्तु !

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

धादिङलाई २० पदक

खोजी गर्नुहोस