२०८२ अषाढ १७, मंगलबार

विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सञ्चालन

  • धादिङ आवाज
  • २०८२ अषाढ ६, शुक्रबार
विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सञ्चालन

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं. २ स्थित नलाङ पात्ले माध्यमिक विद्यालय र सिद्धेस्वर माध्यमिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।

चोया डिजिटल सोलुसन प्रा.लि.को आयोजना तथा चलचित्र विकास बोर्ड, संचार रजिष्टारको कार्यालय बागमती प्रदेश र सिद्धलेक गाउँपालिकाको सहकार्यमा सिनेमाको माध्यमबाट शिक्षालाई जीवन्त बनाउने उद्देश्यले विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा ‘झिगेदाउ’ नामक नेपाली चलचित्र प्रदर्शनी गरिएको थियो ।कार्यक्रममा सिद्धेस्वरका १७० जना विद्यार्थी र नलाङ पात्लेका ३६० जना विद्यार्थी सहभागी थिए ।

चलचित्र प्रदर्शनपछि विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा ‘झिगेदाउ’, ‘पुर्णबहादुरको सारङ्गी’ लगायत चलचित्रका चर्चित अभिनेता मुकुल भुषाल, निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र सम्पादक मित्र गुरुङको उपस्थितिले कार्यक्रमलाई अर्थपूर्ण बनाएको नलाङ पात्ले माध्यमिक विद्यालयका शिक्षक अमृत गुरुङ(तिलक)ले बताउनुभयो।

कायक्रममा चोया डिजिटल सोलुसन प्रा.लि.का अध्यक्ष राज कुमार सिलवालले चलचित्र साक्षरताको अभियानले विद्यार्थीहरूमा दृश्य सञ्चारप्रति रुचि बढाउने विश्वास व्यक्त गर्दै ग्रामीण क्षेत्रमा यस्तो कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

यस्तै वडा अध्यक्ष सागर गुरुङ (शम्भु) ले चलचित्र शिक्षाले बालबालिकामा सामाजिक चेतना, नैतिक शिक्षा र सिर्जनात्मक सोच विकासमा टेवा पुर्‍याउने बताउनुभयो ।

चलचित्र ‘झिगेदाउ’का प्रमुख अभिनेता मुकुल भुषालले भन्नुभयो, “हामी कलाकारको योगदान मात्र पर्दामा सीमित हुँदैन, समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा पनि हामी जिम्मेवार छौं।” निर्देशक ज्ञानेन्द्र देउजाले चलचित्रलाई शिक्षाको एक माध्यमको रूपमा प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले भन्नुभयो, “चलचित्र पत्रकारिता र साक्षरताबीच गहिरो सम्बन्ध छ। यस्तो कार्यक्रमले भविष्यमा सूचना र सञ्चार क्षेत्रमा लाग्ने युवाहरूको जग बलियो बनाउँछ।”

कार्यक्रममा नलाङ पात्ले माविका प्रधानाध्यापक रमेशमान श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलनारायण श्रेष्ठ, सिद्देस्वर माविका सहायक प्रधानाध्यापक राजन कार्की लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले चलचित्रको गहिरो सन्देश बुझ्न सहयोग गरेकाले यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको विद्यार्थीहरूले प्रतिक्रिया दिएका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस