काठमाण्डौ । नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवम् स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।
मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन आग्रह गरेको छ ।
पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् ।