काठमाण्डौ । ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेदेखी शुरु हुनेछ ।
शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ ।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । नेपालको चार खेलमा आठ अङ्क छ ।
सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा रहेर विश्वकप छनोटबाट बाहिरिसकेको छ ।
दोश्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै छ अङ्क बनाएको छ ।चार खेलमा ओमानको छ अङ्कसहित तेश्रो स्थानमा छ ।
ओमानले आज जापानसँग खेल्दैछ । ओमानको पनि छनोट प्रतियागिताको उपाधि जित्ने सम्भावना कायमै छ ।
अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ । मा हिजो यूएईले जापानलाई आठ विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरुको समिकरण पूरा भएको छ ।
एशिया तथा इस्ट एशिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्काबाहेक आईसीसीका शीर्ष सात टोली अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले आउँदो विश्वकपमा स्वतः प्रवेश पाएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय वरीयताको आधारमा न्यूजील्यान्ड, पाकिस्तान र आयरल्यान्डले पनि आफ्नो स्थान बनाइसकेका छन् । क्यानडाले अमेरिकी छनोटमा सजिलैसँग विश्वकपमा पुग्यो ।
पहिलो पटक विश्वकपमा सहभागी इटालीसँगै नेदरल्यान्ड्स युरोपमा भएको पाँच टोलीको प्रतियोगिताबाट छनोट भएका छन् ।
नामिबिया र जिम्बाब्वेले आठ टोलीको अफ्रिका छनोटबाट दुई स्थान सुरक्षित गरे भने नेपाल, ओमान र यूएईले पनि जारी छनोट खेलबाट विश्वकपमा स्थान बनाएका छन् ।
सन् २०२६ मा हुने टी–२० विश्वकम अघिल्लो संस्करण जस्तै ढाँचामा हुनेछ । २० टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ । हरेक टोलीले राउन्ड–रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन् । त्यसपछि हरेक समूहबाट शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।