२०८२ मंसिर २२, सोमबार

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

  • धादिङ आवाज
  • २०८२ मंसिर २२, सोमबार
नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाण्डौ । २४ गते बुधबारदेखि नागढुङ्गा–मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र धादिङ तथा सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सडक आवागमन बन्द हुनेछ ।

यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

साना तथा मझौला गाडीले अत्यावश्यक अवस्थामा सीतापाईला–भिमढुङ्गा–रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेतबाट त्रिशूलीको पूल तरेर घाटबेसीको पूल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न सक्नेछन् ।

एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहन जस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्ने सूचनामा उल्लेख छ ।

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाण्डौ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ ।

यो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ ।

यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस