
काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड खारेज गरेको छ ।
गएको कात्तिक ३० गते श्रम मन्त्रालयले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न भन्दै ३४ प्रकारको स्वास्थ्य परीक्षण गर्नुपर्ने दायरा विस्तार गरेपछि ९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो । तर शुल्क बढेपछि निरन्तर आलोचना र गुनासो आएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मापदण्ड खारेज भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले निकाल्नुभएको विज्ञप्तिमा मन्त्रीस्तरको निर्णयबाट शुल्क वृद्धि खारेज गरिएको उल्लेख छ ।
मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाले स्वास्थ्य परीक्षण र परीक्षण शुल्क साविक बमोजिम नै हुने गरी कार्यान्वयन गर्नसमेत भनेको छ । साविकको शुल्क ६ हजार ५ सय रुपैयाँ थियो ।
