
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनी नजिकै थोपलखोला स्थित भुतेदहमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार राती करिब १० बजेको समयमा माछा मार्न पानीमा लगाउन खोजेको करेन्ट लागेर स्थानीय ४१ वर्षीय नन्दु (नन्द बहादुर) नेपालीको मृत्यु भएको सिद्दलेक गाउँपालिका-१ का वडाअध्यक्ष पेमा वाङ्ग्याल लामाले जानकारी दिनुभयो ।
आइतबार राती करेन्ट लागेर पानीमा डुबेर बेपत्ता भएका नेपालीलाई मंगलबार दिउँसो गोताखोर टोलीले दहमा डुबिरहेको अवस्थामा फेला पारेको वडाअध्यक्ष लामाले बताउनुभयो ।
वडाअध्यक्ष लामाले भन्नुभयो, “रातीको समयमा आफ्नै घरबाट विजुलीको तार तानेर खोलामा करेन्ट लगाउन गएका रहेछन् । तार लिएर खोलामा पस्ने क्रममा चिप्लिएर लडेपछि आफैलाई करेन्ट लागेको भन्ने बुझिएको छ ।”
मृतक नेपाली छरछिमेकी, साथीभाई र उनका छोरासहित ९ जना करेन्ट लगाएर माछा मार्न गएको र उनलाई करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।
यता मृतकका परिवारले भने आफै करेन्ट लागेर नभई अरुले करेन्ट लगाएर हत्या गरेको आरोप लगाएका छन् ।
करेन्ट लगाउन सँगै गएका भनिएका सात जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।
नेपालीको शव पोष्टमार्टमको लागि धादिङ अस्पतालको शवगृहमा राखिएको छ ।
