
धादिङ । सदरमुकाम धादिङबेसीमा आगामी माघ १५ देखि दशौं धादिङ महोत्सव हुने भएको छ ।
धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यका साथ धादिङ उद्योग वाणिज्य संघले आगामी माघ १५ गतेदेखि माघ २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसीको खुल्ला मञ्चमा महोत्सव आयोजना गर्ने भएको हो ।
आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सव सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको छ ।
नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा १ लाखभन्दा बढी दर्शक सहभागी हुने र करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल भैरवी मन्दिरको विशेष पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै दशौं धादिङ महोत्सव आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनुभयो ।
महोत्सवमार्फत जिल्लाको धार्मिक तथा पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएकोले भैरवी मन्दिरको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।
१६० भन्दा बढी स्टल रहने दशौं संस्करणको महोत्सवमा कृषि र घरेलु उद्योगलाई विशेष प्राथमिकता दिने पनि आयोजकले बताएको छ ।
जसमा व्यापारिक स्टल एक सय, घरेलु तथा साना उद्योग स्टल २० र कृषि तथा अन्य उत्पादन स्टल ४० वटा रहने छ ।
आयोजकका अनुसार महोत्सवका मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विधागत विषयमा सरोकारवालासँग प्रत्यक्ष अन्तरसंवाद, कृषि उपज तथा घरेलु उत्पादन प्रदर्शनी एवं प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन र प्रतियोगिता, भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम, सबै स्थानीय तहका विशेष उत्पादन स्टल, कृषि, पशुसेवा, वन कार्यालयको परामर्श सेवा, स्थानीय परिकार र संस्कृतिको प्रस्तुति, रमाइलो मेला तथा बाल उद्यान तथा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक कार्यक्रम रहने छ ।
महोत्सव सफलतापूर्वक सम्पन्न गर्न १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिको संयोजकमा अध्यक्ष रामकुमार डल्लाकोटी र सह–संयोजकमा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनुभएको छ । यसका साथै ५१ सदस्यीय सल्लाहकार समिति, २५ सदस्यीय सचिवालय समिति र २४ वटा विषयगत समिति रहेको छ ।
आयोजकले पत्रकार सम्मेलनमा दशौं धादिङ महोत्सवलाई सभ्य र भव्य बनाउन अपिल गरेको छ ।
२०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सक्रिय रहँदै २०६४ देखि २०८० सालसम्म नवौँ पटक धादिङ महोत्सव तथा कृषि–पर्यटन मेला गरेर जिल्लामा उत्पादित वस्तुको बजारीकरण, पर्यटन प्रवर्द्धन, होमस्टे सञ्चालन, होटल व्यवसाय तथा कृषिको व्यवसायीकरणमा सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ ।
