२०८२ पौष २५, शुक्रबार

इटपानीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

  • धादिङ आवाज
  • २०८२ पौष २४, बिहिबार
इटपानीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

माघे सङ्क्रान्ति, ल्होसार तथा श्रीपञ्चमीको पावन अवसर पारेर मनकामना समाज सुधार युवा क्लब, सिद्धलेक-३ इटपानीले माघ ५ गतेदेखि ८ गते सम्मवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु.३० हजार र तृतीय हुने टिमलाई रु.२० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भलिबल खेल कार्यक्रम संयोजक सोम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अकला आमा समुहको सह आयोजनामा इटपानीस्थित खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले माघ ४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

टिम दर्ता शुल्क रु.५ हजार तोकिएको छ।

आयोजकका अनुसार प्रतियोगिता एफआईभिबि को नियमअनुसार सञ्चालन गरिने, खेलाडीहरू एकै वडाको हुनपर्ने साथै परिचय खुल्ने कागजात हुनुपर्ने, जर्सीसहित खेलाडी संख्या ९ जना हुनुपर्ने र टाढाबाट आउने खेलाडीहरुलाई खान र बस्नको व्यवस्था रहेको छ।

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९७०४८३७०७२, ९८०८४०८४८५ र ९८४१०६१७९४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

यसैगरी माघ ८ गते साँझ श्रीपञ्चमी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

“कला–संस्कृति, हाम्रो पहिचान, समाज परिवर्तनमा कलाकारको योगदान” भन्ने नारासहित मनकामना समाज सुधार युवा क्लवले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको सांस्कृतिक कार्यक्रम संयोजक सुन्दर आलले जानकारी दिनुभयो ।

कार्यक्रममा सोरठी, झयाउरे, गजुरे, कौडा, सालैजो, पञ्चेबाजा, प्रत्यक्ष दोहोरी लगाएतका झाँकीहरु र नेपाल साँस्कृतिक संघ धादिङको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा गायक विवश दर्लामी मगर, गायिका तथा मोडल उर्मिला पुलामी मगर, मोडल विजय पुन, गायक प्रसाद खप्तरी मगर, सिद्धार्थ आले मगर, लोक गायक पवन आले मगर, लोक गायिका रोशनी राना मगर, डान्सर प्रीती गुरुङ र हास्य कलाकार सागर गाहा मगरको प्रस्तुति रहनेछ ।

खेलकुद र संस्कृतिमार्फत स्थानीय प्रतिभाको पहिचान, आपसी सद्भाव तथा सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक मनकामना समाज सुधार क्लबका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।

सिद्धलेक गाउँपालिकाको प्रायोजन तथा सिद्धलेक गाउँपालिका वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोगमा हुने भलिबल र सास्कृतिक कार्यक्रममा सम्पूर्ण खेलप्रेमी, कला-संस्कृति प्रेमी तथा स्थानीयवासीलाई सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले आग्रह गरेको छ ।

यस्तै माघ ८ गते नवनिर्मित अकला माइको मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बिगत ३ दशक देखि सक्रिय भएर काम गरिरहेको मनकामना समाज सुधार क्लवले टोल विकासको लागि प्रमुख भूमिका निभाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस