२०८२ पौष २५, शुक्रबार

धादिङमा पनि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

  • धादिङ आवाज
  • २०८२ पौष २४, बिहिबार
धादिङमा पनि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

धादिङ । निर्वाचन प्रहरीको भर्ना खुलेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको छ ।

भर्ना हुनका लागि शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । धादिङमा पनि भर्ना प्रक्रिया सुरु गरिएको छ।

निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति धादिङले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

समितिका अनुसार नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ७९ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ।

नेपाल सरकार, गृह मन्त्रालयबाट स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२” अनुसार भर्ना प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यालय समयभित्र स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा भने दरखास्त प्रक्रिया स्थगित रहने जनाइएको छ ।

भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने मापदण्ड तोकिएको छ।

साथै, पुरुष र महिलाका लागि न्यूनतम उचाइ तथा तौलसम्बन्धी मापदण्डसमेत निर्धारण गरिएको छ।

छनौट प्रक्रिया माघ ५ गतेदेखि माघ ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय धादिङमै सञ्चालन हुनेछ। छनौट प्रक्रियाबाट उत्तीर्ण उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ।

छनौट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि माघ २४ गतेसम्म तालिम प्रदान गरिने तालिका रहेको छ।

निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ।

भर्नासम्बन्धी थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा सम्पर्क गर्न सकिने निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस