२०८२ पौष २६, शनिबार

खोला, नदीमा करेन्ट लगाई माछा मार्न प्रतिबन्ध

  • धादिङ आवाज
  • २०८२ पौष २५, शुक्रबार
खोला, नदीमा करेन्ट लगाई माछा मार्न प्रतिबन्ध

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका क्षेत्रभित्रका सबै नदी, खोला तथा जलस्रोतहरूमा करेन्ट प्रयोग गरी माछा मार्ने कार्य पूर्ण रूपमा प्रतिबन्ध गरिएको गाउँपालिकाले जनाएको छ।

शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै थोपल खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा विभिन्न समयमा विभिन्न व्यक्तिको ज्यान जाने गम्भीर घटनाहरू घटिसकेको भन्दै गाउँपालिकाले सो कार्य पूर्ण रूपमा निषेध गरेको जनाएको छ।

करेन्ट प्रयोग गरी माछा मार्दा मानव जीवन, जलचर तथा वातावरणमा अत्यन्तै गम्भीर र अपूरणीय क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

अब उपरान्त कसैले पनि यस्तो कार्य गरेको वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, करेन्ट प्रयोग गरी माछा मार्ने गतिविधि भएको थाहा पाएमा तुरुन्त जिल्ला प्रशासन कार्यालय धादिङ वा सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यसमा सबै नागरिकको सहयोग आवश्यक रहेको गाउँपालिकाको भनाइ छ।

गएको आइतबार राती सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनी नजिकै थोपलखोला स्थित भुतेदहमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको थियो ।

आइतबार राती करेन्ट लागेर पानीमा डुबेर बेपत्ता भएका बैरेनीका स्थानीय ४१ नन्द बहादुर नेपालीको दुई दिन पछी गोताखोर टोलीले दहमा डुबिरहेको अवस्थामा शव फेला पारेको थियो ।

मृतक नेपाली छरछिमेकी, साथीभाई र उनका छोरासहित ९ जना करेन्ट लगाएर माछा मार्न गएको र उनलाई करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

यता मृतकका परिवारले भने आफै करेन्ट लागेर नभई अरुले करेन्ट लगाएर हत्या गरेको आरोप लगाएका छन्।

करेन्ट लगाउन सँगै गएका भनिएका सात जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस