धादिङबेसी । धादिङबेसीमा कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम आईतबारबाट शुरु भएको छ ।
तालिममा गंगाजमुना र खनियाबासका समुहबाट छनौट भई आएका अगुवा कृषक र परियोजनामा संलग्न कर्मचारीहरु समेत गरी २४ जना सहभागी रहेको प्रयास नेपालका प्रशासन तथा लजिष्टक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।
शुक्रवारसम्म संचालन हुने ५ दिने तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित र कार्यक्रम व्यवस्थापक सुरज आचार्यले समुदायमा बैठक र समूह पहिचान, समूह गठन र अध्ययन प्रक्रियाको जानकारी, कृषि प्रसार र बजारको बारेमा कृषकको अनुभव, अनुगमन, घरेलु अर्थव्यवस्था र पारिवारिक खेती, मौसम पात्रो, नगद प्रवाह र बचत, बजार, मूल्य, भुक्तानीका सर्तहरू र गणना सीप,मूल्य श्रृंखला लगायतका बिषयबस्तुमा सहजिकरण गर्नुहुने छ ।
यसैगरी तालिममा नक्सा, मूल्य अभिवृद्धि र मूल्य ह्रास (घट्ने) सुधार सीप, बजार भ्रमण ९स्थानीय बजार०,वार्ता र सम्झौता,सामूहिक बजार र संगठन ऐच्छिक सत्र, सहजीकरण सहभागीले आफ्नो समूहमा गएर तालिम दिने बिषयबस्तुमा समेत सहजिकरण गर्नु हुनेछ ।
तालिम पछि अगुवा कृषकहरुले कृषक बजार पाठशाला सम्बन्धी निर्देशिकाको आधारमा रहि समुह तहमा पाठशाला संचालन मार्फत उत्पादन बृद्धि र बजारीकरण सम्बन्धी ज्ञान, सिप र अनुभव प्रदान गर्नु हुने प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले बताउनुभयो ।
पहिलो चरणमा गंगाजमुनामा ३ स्थान र खनियावासमा २ स्थानमा कृषक बजार पाठशाला संचालन हुने पनि संयोजक खनालले बताउनुभयो ।
तालिमको उद्घाटन सत्रमा प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, उप समिति संयोजक ईश्वरी कोईराला सहितको उपस्थिति रहेको प्रयास नेपाल धादिङका रुपेस तामाङले जानकारी दिनुभयो।