२०८३ भाद्र १२, शुक्रबार

प्रशिक्षक कुमार राई सम्मानित

  • धादिङ आवाज
  • २०८२ पौष ११, शुक्रबार
प्रशिक्षक कुमार राई सम्मानित

धादिङ । धादिङ जिल्ला भलिबल संघले काठमाडौंको नैकापमा रहेको न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राईलाई सम्मान गरेको छ ।

धादिङबेशीमा जारी ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको अवसरमा शुक्रबार प्रशिक्षक राईलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै प्रशिक्षक कुमार राईले नेपाली महिला भलिबल खेलाडीले एक दिन अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको शिर उच्चो पार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महिला खेलाडीको क्षमता, मेहनत र अनुशासनमा आफूलाई पूर्ण भरोसा रहेको उल्लेख गर्दै त्यस लक्ष्यका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो । राईले २०६४ सालदेखि महिला भलिबलको विकासमा संघर्ष गर्दै आएको स्मरण गर्दै सीमित स्रोत, पूर्वाधारको अभाव र आर्थिक चुनौतीका बाबजुद पनि आफू कहिल्यै हतोत्साहित नभएको बताउनुभयो ।

“महिला खेलाडीलाई अवसर, उचित प्रशिक्षण र प्रोत्साहन दिन सकिए उनीहरूले जुनसुकै स्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्,” उहाँले भन्नुभयो ।

उहाँले धादिङसहित विभिन्न जिल्लाबाट आएका महिला खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आफ्नो सपना अझै अधुरो रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न निरन्तर मेहनत गर्ने बताउनुभयो । साथै, महिला खेलाडीलाई सम्मान, हौसला र निरन्तर सहयोग मिलेमा नेपाली महिला भलिबलले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राईको प्रशिक्षणमा रहेका धादिङका रेविका लामा तामाङ, भावना तामाङ, सलिना गुरुङ लगायत अन्य खेलाडीहरु हाल यस जारी प्रतियोगितामा खेलि रहेका छन् ।

राई न्यु डायमन्डको प्रशिक्षक भएर महिला भलिबल टोलीलाई राष्ट्रिय स्तरका प्रतियोगितामा सफलता दिलाउनुभएको छ ।क्लबले नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताहरूमा उपाधि समेत हासिल गरेको छ।

वर्षौंदेखि महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आउनुभएका राईले सीमित स्रोत, आफ्नै कोर्टको अभाव र आर्थिक कठिनाइका बाबजुद राष्ट्रिय स्तरका महिला भलिबल खेलाडीहरु उत्पादन गर्न सफल हुनुभएको छ ।

प्रशिक्षक राईलाई १२ गते समापनको दिन सम्मान गर्ने कार्यक्रम तय भएको भएपनि उहाँको कार्यव्यस्तताका कारण शुक्रबारनै सम्मान गरिएको धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार संघले यस प्रतियोगिता समापनको दिन राष्ट्रिय भलिबल खेलाडी शरण सामरी, रविन नगरकोटी, भावना तामाङ, रेविका तामाङ लगायतलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस