
धादिङ । धादिङको रूवी भ्याली गाउँपालिकामा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
आज दिउँसो करिब १२ः३० बजे रूवी भ्याली गाउँपालिका-१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई वडा नं. ३ स्थित गुफाभिरबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा साइकल यात्री काठमाडौंको सुकेधारा बस्ने अन्दाजी ५२ वर्षीय प्रशान्त पाण्डे गम्भीर घाइते भएका हुन्।
घटनापछि प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोली, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा जोखिमपूर्ण भिरबाट घाइतेको उद्धार गरिएको थियो।
घाइतेलाई आधारभूत स्वास्थ्य चौकी सेर्तुङमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
हाल उनको हेम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
