धादिङ । बागमती प्रदेश सरकारका नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले सरकार जनताका असन्तुष्टिहरु समाधान गर्न तर्फ लागेको बताउनुभएको छ ।
पछिल्लो समय नागरिकहरुमा असुन्तुष्टि बढेको भन्दै उहाँले प्रदेश सरकार समस्या र आवश्यकताको सम्बोधन गर्नेतर्फ तल्लिन रहेको बताउनुभएको हो ।
आईतबार धादिङबेशीमा विभिन्न संचार माध्यम तथा संघ संस्थाले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रजातन्त्रमा असुन्तुष्टि हुन्छ । प्रजातन्त्र भए मात्रै असुन्तुष्टिका कुराहरु आउने हो,सम्भव त छैन । तर लोकतन्त्र तथा प्रजातन्त्र रहेन भने असन्तुष्टिहरु पनि आउँदैनन् । त्यसैले पनि हामी नागरिकका समस्या र आवश्यकताको सम्बोधन गर्नेतर्फ तल्लिन छौं ।’
मन्त्री अधिकारीले प्रजातन्त्रमा राजनितिमा प्रतिशोध नभई तत्काल सम्झौता गर्न सक्ने क्षमता हुनुपर्ने बताउनुभयो ।
‘राजनिति भनेको प्रतिशोधको राजनीति हुदैन । प्रजातन्त्रमा प्रतिशोधको राजनिति हुदैन । प्रजातन्त्रमा आज नै सम्झौता गर्न सक्ने क्षमता राख्नु पर्छ’ उहाँले भन्नुभयो ।
उहाँले लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन युवा पुस्तालाई राजनीतिक प्रशिक्षण, सचेतना र व्यवहारिक अभ्यास गर्नु पर्नेमा पनि जोड दिनुभयो ।