काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
बजारमा भाइटीकालाई लक्षित गरी थरिथरिका रङ बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ ।
शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ ।
भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँच रङको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराई बताउनुहुन्छ ।
हाम्रा सारा पर्वहरू सूर्य र चन्द्रमासँग सम्बन्धित रहेकाले सूर्यको किरणमा सात रङ भएजस्तै तिहारमा पनि सप्तरंगी टीका नै लगाउनुपर्ने अर्का संस्कृतिविद डा.वासुदेवकृष्ण शास्त्री डा.बासुदेव कोइरालाले बताउनुभयो ।
तिहारमा लगाइने सेतो रङ शान्तिको प्रतीक हो । निलो आरोग्य, कालो विरोध वा फौज, पहेँलो अध्यात्म, हरियो विकास, बैजनी स्वतन्त्रता र रातो साहसको प्रतीक हो ।
त्यसैले यी सातै प्रकारका रङको टीका तिहारमा प्रयोग गरिने शास्त्री बताउनुहुन्छ । तिहारमा सात प्रकारका रङको टीका लगाइदिएपछि ६ प्रकारका स्वादको सम्मीश्रण भएको परिकार खानु र खुवाउनुपर्ने उहाँको भनाई छ ।
संसारमा गुलियो, टर्रो, अमिलो, पिरो, नुनिलो र तितो गरी ६ प्रकारका स्वाद छन् ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि विहान ११ बजेर ३९ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका सदस्य प्रा।डा। देवमणि भट्टराईले जानकारी दिनुभयो ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।