२०८२ मंसिर १, सोमबार

बालाचतुर्दशी मेला भोलि

  • धादिङ आवाज
  • २०८२ मंसिर १, सोमबार
बालाचतुर्दशी मेला भोलि

धादिङ । नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिरमा भोलि २ गते साँझ बालाचतुर्दशी मेला लाग्दै छ।  मेलाका सबै तयारीहरू अन्तिम चरणमा पुगेको मन्दिर क्षेत्र व्यवस्थापन समितिले जनाएको छ।

समितिका अध्यक्ष मिलन भण्डारीका अनुसार मन्दिर परिसरमा रङरोगन, बत्ति व्यवस्थापन, बाटो सरसफाइदेखि भक्तजनको सुरक्षा व्यवस्थासम्म आवश्यक सबै काम सम्पन्न हुँदैछन्।

भक्तजनको सुविधा र सुरक्षालाई प्राथमिकतामा राखेर अन्तिम तयारी भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

मंसिर २ गते बेलुका ५ बजे औपचारिक उद्घाटनसँगै मन्दिरमा रातभर भजन–कीर्तन, नाचगान हुने र भोलिपल्ट बिहान सतबीज छर्ने परम्परागत विधि रहेको छ ।

मेलाका औपचारिक उद्घाटन नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङगानाले गर्ने तय भएको समितिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

सुन्दर बस्ती टोल विकास संस्थाका शुभकर्म आमा समूहको दिदीबहिनीहरूले नौमती–पञ्चेबाजा सहित मेला गर्ने तयारी गरेका छन्। ३ गते बिहान थोपल खोलामा फूलको डोली तार्ने र शतबीज छर्ने धार्मिक विधि गरिने छमार्गशीर्ष कृष्ण त्रयोदशीको रात दीपदान गरी जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सात थरी अन्न-धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो-छर्ने प्रचलन रहेको छ। एक गेडा सतबीज छर्दा एक गेडा सुन दान गरेको बराबर पुण्य प्राप्त हुने जनविश्वासले भक्तजनको भीड हरेक वर्ष बढ्दै आएको समितिको भनाइ छ।

रातभर बस्ने भक्तजनका लागि त्रिपाल र हलको व्यवस्था मिलाइएको छ। पहिले नै धेरै भक्तजनले आफ्ना बस्ने स्थान सुरक्षित गरिसकेकाले आवश्यक परे थप त्रिपाल पनि उपलब्ध गराइने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

मेलाको आकर्षणमध्ये ‘फूलको डोली तार्ने’ परम्परा प्रमुख मानिन्छ। दिवंगत पितृको सम्झनामा भक्तजनले प्रत्येक वर्ष डोली तार्ने गर्दछन् ।

पशुपति मन्दिर धादिङ सदरमुकामको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण केन्द्रका रूपमा रहेको छ ।काठमाडौँ को पशुपतिनाथ पुग्न नसक्ने धेरै भक्तजनका लागि यहाँको मन्दिर पवित्र गन्तव्य बनिदिएको छ ।

बालाचतुर्दशी, अर्थात् मंसिर कृष्ण चतुर्दशी, आफन्त गुमाएका परिवारका लागि पितृमोक्षका दृष्टिले अत्यन्त महत्वपूर्ण दिन मानिन्छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१३ घण्टा अघि

आजदेखि एनपीएल

खोजी गर्नुहोस