
धादिङ । गोधूली सांस्कृतिक परिवारको नयाँ सालैजो म्युजिक भिडियो “सलाङघाटमा झोलुङ्गे पुल” सार्वजनिक भएको छ।
आइतबार गोधूली सांस्कृतिक परिवारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा धादिङको सांगीतिक पहिचान, स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्य रहेको निर्माण पक्षले बताएको छ।
रण बहादुर दर्लामी (विवश), सम्बेदन थापा र मनमाया वाइबाको स्वर रहेको गितमा शब्द भुवन थापा मगरको रहेको छ। लय संयोजन विवश स्वयंको रहेको छ भने एरेन्ज डोलराज बारघरे मगरले गर्नुभएको छ।
यस गीतको रेकर्डिष्ट सुमन राना, मिक्सिङ कुमार राना द्वारा सम्पन्न गरिएको हो।
भिडियोमा श्याम राना मगर, सुमिना थापा, राजकुमार थापा, बिमला थिङ, महेश्वर घले र अनु थापाले अभिनय गर्नुभएको छ।
चित्र मास्की मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सक्षम पुडासैनीको श्रृंगार, प्रकाश खड्काले छायांकन र नबिन घर्ति मगरले सम्पादन गर्नुभएको हो भने प्राबिधिक व्यवस्थापन दिनेश आले मगरले गर्नुभएको हो ।
यस भिडियोमा सिद्धलेक गाउँपालिकाको प्रमुख पर्यटकीय आकर्षण सिद्धबाबा मन्दिर, ढेवाडाँडा, सलाङ मैदान, सलाङघाट तथा त्रिशुली नदी र आसपासका सुन्दर दृश्यहरू मनमोहक रूपमा समावेश गरिएका छन् ।
स्थानीय भेषभूषा, सांस्कृतिक चालचलन, प्रकृतिको सौन्दर्य र नाचगानलाई दृश्यात्मक रूपमा प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ। उक्त म्युजिक भिडियोले अहिले प्रशंसा बटुलिरहेको छ।
स्थानीय संस्कृति झल्काउन सफल गीतले यश क्षेत्रमा पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
भिडियो……..
