
धादिङ । धादिङबेशीमा जारी ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ प्रतियोगिता अन्तरगत बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगितामा धादिङ टिम ‘ए’, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटले सेमिफाइनलमा स्थान बनाएका छन् ।
सदरमुकाम धादिङबेशी स्थित कभर्डहल परिसरको खेल मैदानमा आज बिहिबार भएको पहिलो क्वाटरफाइनलमा धादिङ टिम ‘ए’ ले चितवनलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
त्यस्तै, दोस्रो क्वाटरफाइनलमा रसुवालाई पराजित गर्दै रामेछापले सेमिफाइनलमा स्थान बनाएको हो ।
आजै भएको तेस्रो क्वाटरफाइनलमा सिन्धुपाल्चोकले सिन्धुलीलाई पराजित गरेको हो भने अर्को खेलमा नुवाकोटले धादिङ टिम ‘बि’ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
अब भोलि शुक्रबार हुने पहिलो सेमिफाइनलमा बिहान ११ बजे धादिङ टिम ‘ए’ ले रामेछापसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो सेसिफाइनलमा दिउँसो १ बजे सिन्धुपाल्चोकले नुवाकोटसँग खेल्नेछ ।
फाईनन खेल पुस १२ गते हुनेछ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी थिए । जस्मा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक थिए ।
