
धादिङ । गोरगङ बहुउपयोगी पानी प्रणाली योजनाको प्रारम्भिक सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ।
प्रयास नेपाल धादिङ र आड्रा नेपालको साझेदारी तथा खनियाबास गाउँपालिकाको समन्वयमा सञ्चालित उत्थानशील जिविकोपार्जनतथा खाद्य सढृढिकरण परियोजना अन्तर्गत सञ्चालन हुन लागेको बहुउपयोगी पानी प्रणाली योजनाको प्रारम्भिक सार्वजनिक सुनुवाइ गरिएको हो ।
गोरगङमा आयोजित कार्यक्रममा योजनाको उद्देश्य, कार्यक्षेत्र, लाभान्वित घरधुरी, अनुमानित लागत, कार्यान्वयन प्रक्रिया तथा समुदायको भूमिकाबारे प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी प्रस्तुत गर्नु भएको थियो।
योजनाबाट गोरगङ गाउँका १८ घरधुरीका ८६ जना स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
योजना अन्तर्गत १ वटा मूल इन्टेक, ५ घन मिटर क्षमताका २ वटा पानी ट्यांकी, ५५० मिटर खानेपानी वितरण पाइपलाइन, ३०० मिटर सिँचाइ पाइपलाइन, १५ वटा धारा निर्माण तथा ७ स्थानमा सिँचाइ सुविधा विस्तार गरिने प्रयास नेपालका फिल्ड संयोजक सरज खनालले जानकारी दिनुभयो ।
योजनाको कुल अनुमानित लागत रु. ६ लाख ९४ हजार ४ सय ९२ रहेको छ। जसमा समुदायको श्रमदान रु. १ लाख ९४ हजार ७ सय६२ बराबर रहनेछ भने बाँकी रु.४ लाख ९९ हजार ८ सय २९ प्रयास नेपाल रिलिफ परियोजनाबाट योगदान रहने प्रयास नेपालका प्रशासन तथा लजिस्टिक सहायक राम माया तामाङले जानकारी दिनुभयो।
कार्यक्रममा खनियावास-५ का वडा अध्यक्ष रविन तामाङ, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति,प्राविधिक परामर्शदाता,कृषक समूह, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले योजनाको पारदर्शिता, दिगोपन, समान पहुँच र समयमै सम्पन्नताको विषयमा सुझाव दिएका थिए।
आयोजक संस्था प्रयास नेपालका फिल्ड संयोजक सरज खनालले समुदायको सक्रिय सहभागिता र अपनत्वबाट योजना सफल हुने विश्वास व्यक्त गर्दै सार्वजनिक सुनुवाइमा प्राप्त सुझावहरू कार्यान्वयन चरणमा समेटिने प्रतिबद्धता जनाउनु भयो।
योजना २०८२ पौष ७ गतेदेखि सुरु भई २०८२ फागुन ५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको प्रयास नेपालका रुपेश तामाङले बताउनुभयो ।
बहुउपयोगी पानी प्रणाली योजनाले सुरक्षित खानेपानी, सिँचाइ सुविधा तथा खाद्य सुरक्षामा योगदान पुर्याउँदै स्थानीयको जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको कार्यकारी निर्देशक अर्यालले बताउनुभयो।

