२०८२ पौष २८, सोमबार

भलिबल र सांस्कृतिक कार्यक्रमको लागि सहयोग जुट्दै

  • धादिङ आवाज
  • २०८२ पौष २८, सोमबार
भलिबल र सांस्कृतिक कार्यक्रमको लागि सहयोग जुट्दै

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–३, सलाङ इटपानीमा माघ ५ गतेदेखि वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ ।

खेलकुद र संस्कृतिमार्फत स्थानीय प्रतिभाको पहिचान, सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मनकामना समाज सुधार युवा क्लब, सिद्धलेक–३ इटपानीको आयोजना तथा सिद्धबाबा आमा समूहको सह–आयोजनामा सञ्चालन हुने कार्यक्रमको लागि आवश्यक सहयोग जुट्दै गएको छ ।

गाउँपालिकाको प्रायोजन तथा वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोगमा हुने प्रतियोगिताका लागि हाल देश तथा विदेशमा रहेका सिद्धलेक–३ सलाङका नागरिक, स्थानीयवासी, समाजसेवी, व्यवसायी र खेलप्रेमीहरूबाट नगद, खेल सामग्री तथा अन्य आवश्यक सहयोग जुट्दै गएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र प्रभावकारी बनाउन आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेकोले सहयोगको लागि आयोजकले अपिल गरेको छ ।

माघे सङ्क्रान्ति, ल्होसार तथा श्रीपञ्चमीको अवसरमा माघ ५ गतेदेखि ८ गते सम्म हुने वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भलिबल खेल कार्यक्रम संयोजक सोम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले माघ ४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ५ हजार तोकिएको छ।

आयोजकका अनुसार खेलाडीहरू एकै वडाको हुनपर्ने साथै परिचय खुल्ने कागजात हुनुपर्ने, जर्सीसहित खेलाडी संख्या ९ जना हुनुपर्ने र टाढाबाट आउने खेलाडीहरुलाई खान र बस्नको व्यवस्था रहेको छ।

यसैगरी माघ ८ गते साँझ श्रीपञ्चमी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम समेत हुँदै छ ।

खेलकुद हाम्रो जीवन कला सस्कृती हाम्रो पहिचान, समाज परिवर्तन मनकामना क्ल्वको योगदान भन्ने नारासहित मनकामना समाज सुधार युवा क्लवले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको सांस्कृतिक कार्यक्रम संयोजक सुन्दर आलले जानकारी दिनुभयो ।

कार्यक्रममा सोरठी, झयाउरे, गजुरे, कौडा, सालैजो, पञ्चेबाजा, प्रत्यक्ष दोहोरी लगाएतका झाँकीहरु र नेपाल साँस्कृतिक संघ धादिङको विशेष प्रस्तुती रहने र चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।

सम्पूर्ण कार्यक्रम बागमती कलमबाट प्रत्यक्ष प्रशारण हुने छ।

तीन दशकभन्दा बढी समयदेखि सामाजिक विकास, खेलकुद प्रवर्द्धन र टोल विकासमा सक्रिय मनकामना समाज सुधार युवा क्लबले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने र कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस