
धादिङ ।रुबी भ्याली गाउँपालिका५ भित्र पर्ने लापा–खादिङ सडक खण्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ।
लामो समयदेखि यातायात सुविधाबाट वञ्चित रहँदै आएका स्थानीयवासीका लागि यो सडक सञ्चालनसँगै सहज आवतजावतको बाटो खुलेको छ।
बागमती प्रदेश सरकारद्वारा सञ्चालित एकीकृत रुबी भ्याली विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको महत्वपूर्ण पूर्वाधार आयोजनामध्येको लापा–खादिङ सडक खण्डको मंगलबार एक कार्यक्रमका बिच औपचारिक रूपमा उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा राजनीतिक नेतृत्व, प्रशासनिक अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य डम्बर तामाङले ग्रामीण क्षेत्रमा सडक पूर्वाधारले विकासको ढोका खोल्ने बताउनुभयो।उहाँले लापा–खादिङ सडक सञ्चालनले शिक्षा, स्वास्थ्य सेवा, कृषि उत्पादन र स्थानीय व्यापारमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले यो सडक गाउँपालिकाको समग्र विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गर्नुभयो। दशकौँदेखि स्थानीयले देखेको सपना साकार भएको बताउँदै उहाँले जनताको धैर्य, सहयोग र एकताले यो उपलब्धि सम्भव भएको धारणा राख्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले विकाससँगै सुरक्षा र सुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। सडक सञ्चालनपछि शान्ति सुरक्षा, यातायात व्यवस्थापन तथा अन्य प्रशासनिक पक्षमा सम्बन्धित निकायहरू सतर्क रहने जानकारी दिनुभयो।
गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले सडक सञ्चालनले महिला, किसान र युवालाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। स्थानीय उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउन सकिने अवस्था बनेको उहाँको भनाइ थियो।
सडक सञ्चालनसँगै स्थानीय यातायात सेवा व्यवस्थापनका लागि काउन्टर समेत स्थापना गरिएको छ।
लापा–खादिङ सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि रुबी भ्याली क्षेत्रको आर्थिक तथा सामाजिक विकासले थप गति लिने अपेक्षा गरिएको छ।
