
धादिङ । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ को उम्मेदवार छनौटमा विभेद गरेको भन्दै एमाले कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
नेकपा एमाले केन्द्रीय सचिवालयले धादिङ क्षेत्र नम्बर २ का लागि संविधान सभा सदस्य समेत रहेका एमाले नेता धनबहादुर घलेलाई उम्मेदवार सिफारिस गरेको थियो ।
तर सो निर्णय उल्टाउदै सोमबार घलेको नाम हटाएर चन्द्र रिजाललाई टिकट दिएपछि पहिलाको निर्णय कार्यान्वयन गर्न माग गर्दै तालाबन्दी गरेको झार्लाङका एमाले कार्यकर्ता इमान तामाङले जानकारी दिनुभयो ।
गंगाजमुना, खनियाबास, रुबीभ्याली, त्रिपुरासुन्दरी लगायतका एमाले कार्यकर्ताले तालाबन्दी गरि कार्यालयमा धर्ना समेत दिएका छन् ।
धनबहादुर घलेको नाममा टिकट दिनुपर्ने र पछि गरिएको निर्णय सच्याउनुपर्ने एमाले २ नम्बर क्षेत्रका कार्यकर्ताको भनाई छ ।
पार्टीको निर्णय प्रक्रिया अपारदर्शी भएको, स्थानीय संगठनको भावना बेवास्ता गरिएको तथा लामो समयदेखि संगठनमा योगदान दिएका नेतामाथि अन्याय गरिएको उनिहरुको आरोप छ ।
माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी कार्यकर्ताहरूले दिएका छन्। यस विषयमा एमाले धादिङ जिल्ला कमिटी तथा केन्द्रीय नेतृत्वको औपचारिक प्रतिक्रिया भने हालसम्म आएको छैन।
