
धादिङ- धादिङ खनियाबास गाउँपालिका बृचेतकी अपेक्षा तामाङ,तामाङ समुदायकी एक साधारण तर दृढ इच्छाशक्ति, आत्मविश्वास र संघर्षले भरिएको जीवनयात्रा बोकेकी महिला हुन्।
उहाँ बुबा भीमबहादुर तामाङ आमाको नाम उर्जालामो तामाङको खोजबाट भएको हो । ग्रामीण परिवेशमा हुर्किएकी अपेक्षाले सानैदेखि अभाव, जिम्मेवारी र संघर्षसँग जुध्दै जीवन अघि बढाउनु भएको बुबा भीम बहादुर तामाङले बताउनु भयो ।
अपेक्षाको प्रारम्भिक जीवन गाउँघरका अधिकांश महिलाहरूको जस्तै थियो। बिहान सबेरै उठेर चुलोचौका गर्ने, घाँसदौरा गर्ने, पशुपालन र खेतीपातीमा समय बिताउने दैनिकी उहाँको जीवनशैली थियो।
समाजमा महिलाको भूमिका घरभित्र मात्र सीमित गरिनु, निर्णय प्रक्रियामा पुरुषको वर्चस्व हुनु र महिलाको आवाज दबिनु—यी सबै अवस्थाहरू उहाँले नजिकबाट अनुभूत गर्नुभएको थियो। यसैले, उहाँ आफैं पनि लामो समयसम्म आफ्नो क्षमता र सम्भावनालाई चिन्न सक्नुभएको थिएन।
तर समयसँगै अपेक्षाको जीवनमा परिवर्तनको ढोका खुल्न थाल्यो। आड्रा नेपाल र प्रयास नेपालद्वारा सञ्चालन भइरहेको रिलिफ परियोजनामा आबद्ध भएपछि उहाँको सोच, आत्मविश्वास र जीवनदृष्टिकोणमा उल्लेखनीय परिवर्तन आयो।
परियोजना अन्तर्गत उहाँ डाँफे कृषक समूहको कोषाध्यक्षको जिम्मेवारीमा चयन हुनुभयो। यस जिम्मेवारीले उहाँलाई नेतृत्व विकास, पारदर्शिता, हिसाबकिताब व्यवस्थापन तथा समूह सञ्चालनसम्बन्धी महत्त्वपूर्ण सीपहरू सिक्ने अवसर प्रदान गर्यो।
कोषाध्यक्षको भूमिकामा रहँदा अपेक्षाले समूहका सदस्यहरूसँग नजिक भएर काम गर्न थाल्नुभयो।
प्रयास नेपालमा कार्यरत लैङ्गिक एसोसियट शर्मिला गुरुङको सकारात्मक उत्प्रेरणा र उहाँ लगनशीलता र सिर्जनसिलताले समाजमा लैङ्गिक सवाल तथा समस्या, चुनौती र सम्भावनालाई बुझ्दै उहाँ क्रमशः उनीहरूको आवाज बन्न थाल्नुभयो।
यहि अगुवाई र लगनशीलता, जिम्मेवारी प्रतिको इमान्दारिता, सक्रिय सहभागिता र नेतृत्व क्षमताका कारण उहाँ जेन्डर च्याम्पियनको रूपमा चयन हुनुभयो।
जेन्डर च्याम्पियनको चयनपछि प्रयास नेपाल धादिङले आयोजना गरिएको पाँच दिने जेन्डर च्याम्पियन तालिममा सहभागी हुने अवसर उहाँले प्राप्त गर्नुभयो। यस तालिमले अपेक्षाको जीवनमा ठूलो मोड ल्यायो।
उहाँले लैङ्गिक समानता, महिला–पुरुषबीचको भूमिका विभाजन, विभेदका कारण र समाधान, महिला अधिकार, हिंसा विरुद्ध आवाज उठाउने उपाय तथा समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सीपहरू सिक्नुभयो।
तालिमपछि अपेक्षा तामाङ केवल सिक्ने व्यक्ति मात्रै रहनुभएन, सिकेका ज्ञान र सीपहरू व्यवहारमा उतार्ने अगुवा बन्नुभयो। उहाँले कृषक समूहका महिला दिदीबहिनीहरूलाई संगठित गर्दै आत्मविश्वास बढाउने, आफ्ना विचार खुलस्त राख्न प्रेरित गर्ने र निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्न थाल्नुभयो।
पहिले बोल्न हिच्किचाउने महिलाहरू आज आफ्नो हक–अधिकारबारे खुलेर बोल्न थालेका छन्, जसको मुख्य प्रेरक शक्ति अपेक्षा तामाङ हुनुहुन्छ।
हाल अपेक्षा तामाङ कृषक समूहमा जलवायु कृषक पाठशालाअन्तर्गत सिकाइएका आधुनिक कृषि प्रविधि, मौसमअनुकूल खेती प्रणाली, उत्पादन विविधीकरण तथा बजारसँग जोडिने अभ्यासहरूलाई व्यवहारिक रूपमा लागू गरिरहनु भएको छ।
उहाँले समूहका महिलाहरूलाई परामर्श दिँदै कृषि उत्पादनलाई दिगो आम्दानीको स्रोत बनाउने दिशामा अगाडि बढ्न सहयोग गर्नुभएको छ।
पाठशालाबाट श्रीमान् दीपक बहादुर तामाङ सिकेका सीपहरूको प्रयोग गरी विभिन्न कृषि उपज उत्पादन र बिक्रीमा सफलता प्राप्त गरेको समूह आर्थिक रूपमा क्रमशः सबल बन्दै गएको छ । यसले महिलाहरूको आम्दानी बढ्नुका साथै घरपरिवारभित्र उनीहरूको निर्णय क्षमता, सम्मान र पहिचान पनि मजबुत बनेको छ ।
साथै, अपेक्षाले समूहलाई वडा तथा पालिकाबाट सञ्चालन हुने कृषि, जीविकोपार्जन र विकाससम्बन्धी योजनाहरू माग गर्न र पहुँच बढाउन सक्षम बनाउनुभएको छ।
पहिले चुलोचौका र घाँसदौरामा सीमित रहेकी अपेक्षा तामाङ आज समुदायकी सचेत महिला, नेतृत्वकर्ता र जेन्डर च्याम्पियनको रूपमा परिचित हुनुहुन्छ । उहाँको जीवनयात्राले ग्रामीण महिलाहरूले अवसर, तालिम र सहकार्य पाए भने उनीहरू पनि सशक्त, आत्मनिर्भर र परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने स्पष्ट सन्देश दिएको छ ।
अपेक्षा तामाङको सफलता केवल व्यक्तिगत उपलब्धिमै सीमित छैन, यो कथा समाज परिवर्तनको कथा हो।
आज उहाँ गाउँ–समाजका अन्य महिलाहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ र समुदायमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा न्यायपूर्ण समाज निर्माणको आवाज बुलन्द गरिरहनु भएको छ।

