२०८२ माघ १२, सोमबार

वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • धादिङ आवाज
  • २०८२ माघ ११, आईतबार
वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

-केशव प्रसाद रुपाखेती

राजनीति गर्नुलाई जागिर खानु भनिदैन,यो कर्ताको अन्तस्करणबाट उत्पन्न हुने राष्ट्र,राष्ट्रियता र जनता प्रतिको सेवाभाव हो । यसको अर्थ राजनीति पेसा नभई सेवा हो भने राजनीति कर्मी व्यवसायी नभई सेवक हुन् ।

नेपालमा राजनीतिक दलको स्थापनाको इतिहासलाई फर्केर हेर्दा निरङ्कुश जहानिया राणा शासनको विरुद्ध सङ्घर्ष गर्ने र प्रजातन्त्र स्थापना गर्ने हो ।

यो नितान्त राष्ट्र र जनता प्रतिको समर्पण र सेवाभाव थियो । संवत् १९९३ जेठ २० मा विधिवत रुपमा स्थापना भई राणा शासन विरुद्ध जनआवाज बुलन्द गर्ने पहिलो राजनीतिक सङ्गठन प्रजापरिषदलाई हुर्कन नपाइ हत्या गर्ने प्रयास गरियो र घाइते अवस्थामा १५ सालको निर्वाचन सम्म बाँच्न सफल भयो । त्यसपछी यसको नाम नै मेटिन पुगेको इतिहास छ ।

राणा शासन विरुद्ध आन्दोलन गर्ने उद्देश्यले २००४ मा नेपाली राष्ट्रिय काङ्ग्रेसको नाममा स्थापना भई २००६मा काङ्ग्रेसमा रुपान्तरित दल होस या २००६ मै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी होस् यी दुवैको उद्देश्य राष्ट्र र जनताको सेवामा नै समर्पित रहेको थियो । यीनकै सक्रियतामा २००७को क्रान्ति सफल भयो र फल स्वरुप राणा शासनको अन्त्य भयो ।

देश र जनताले मुक्ति पाए । यसले राष्ट्रको रक्षा र जनताको सुरक्षा गर्ने संस्था राजनीतिक दल हो भन्ने पुष्टि ग¥यो । जब यी राजनीतिक दलमा स्वार्थ र राजनीतिलाई पेसा बनाउने समुह र प्रवृत्तिको प्रवेश र विकास भयो यसको गोलचक्करमा देश फस्यो।

सुगौली सन्धिबाट सुरुभएको वैदेशिक हस्तक्षेपले मौलाउने अवसर पायो, पद र शक्तिको लागि राष्ट्रिय हित विपरितका सम्झौता र सन्धिहरु भए ।

जनतामा निराशा, दिक्दारी र आक्रोश बढ्न गयो । राजनीतिक दलका नेताहरुको अकर्मण्यता तथा व्यक्तिवादी प्रवृत्तिले जनतामा सिर्जना भएको निराशालाई भ¥याङ बनाएर महेन्द्र राजाले १७ सालमा दल विहिन पञ्चायती शासन सुरुवात गरे ।

यदि राजनीतिक दलका नेतृत्वमा पदलोलुपता र निरङ्कुशवादी प्रवृत्ति विकास नभएको थियो भने तत्कालिन समयमा दलिय राजनितीमा समस्या पक्कै आउने थिएन ।

४६ को परिवर्तन पछि जनताले दलहरुलाई ठूलो विस्वास गरी सत्ताको मालिक हुने जनादेश दिए तर दलका नेतामा विकास भएको निरङ्कुश र व्यक्तिवदी प्रवृत्ति र स्वार्थ प्रेरित निर्णय, यी समयमा सत्तामा पुगेका दल र सत्ता रसस्वाद लिएका यिनका नेतृत्वको निरङ्कुशता र व्यक्तिवादले देशमा नराम्रो राजनीतिक विकृति उत्पन्न भयो ।

यसको परिणाम स्वरुप माओवादी जनयुद्धले जन्म लिई हुर्कने अवसर पायो र उक्त सङ्घर्षको आडमा लामो बिरासत बोकेको राजतन्त्रको अवसान हुन पुग्यो । यसैलाई ठूलो राजनीतिक उपलब्धिको रुपमा व्याख्या गरेर तिनै दलका नेतृत्वले जनतामा भ्रम छरेर आफू सत्ता र नेतृत्वमा पुग्ने काम गरिरहे ।

दलका हरेक आन्दोलनमा साथ दिएका जनताको लागि भने राजनीतिक दलले ऋण, वेरोजगारी,गरिवी, असुरक्षा र अभावको चाङ मात्र दिए । जनताले यी सबै क्रियाकलापलाई नजिकबाट नहेरेका होइनन् ।

दलहरु सुध्रने आशा र लोकतन्त्रको विकल्प सुधारिएको लोकतन्त्र मात्रै हो भन्ने विस्वासका साथ जनताले दललाई साथ दिइरहे तर दलले जनतालाई पटक पटक धोका दिए ।

राजनीतिक नेतृत्वले पद र पार्टी आफ्नो पैत्रिक सम्पत्ति झैं गरी आफ्ना वरिपरि घुम्ने गणेश प्रवृत्तिका सिमित द्ववारे,हुक्के र सुसारेहरुलाई उत्तराधिकारी बनाउँदै गए ।

परिणाम स्वरुप सार्वजनिक सेवामा चरम वेथिती उत्पन्न भयो, जनताका काममा ढिलासुस्ती बढ्न गयो, वैदेशिक ऋणले अर्थतन्त्र थिलथिलो भयो, चरम गरिबी र वेरोजगारी बढ्न पुग्यो, संवैधानिक नियुक्तिमा तिनै भ्रष्ट नेतृत्वका सुसारे र द्वारे अनि हुक्केहरुले प्रवेश पाउन थाले, एक किसिमले भन्दा देश पुरै दलाल, तस्कर,बिचौलिया, घुसखोर जस्ता अपराधीहरुको इशारामा मात्र चल्ने भयो । बुढापाकाले भन्ने गरे जस्तो सरकारमा बस्नेका आसेपासेलाई चैन र विपक्षी अनि सर्वसाधारणलाई ऐन भन्ने भनाई पुष्टि भयो।

जनतामा बढेको चरम निराशा र आक्रोशले सिमा नाघीसकेको थियो, नव युवा जसलाई राजनीति भन्ने शब्द प्रति घृणा उत्पन्न भईसकेको थियो ।

उनीहरुको मनस्थितिमा राजनीति भनेको भ्रष्टाचारको रुप हो, नेता भनेका भ्रष्टचारी र अपराधिका अनुहार हुन्, हाम्रो पुस्ताको लागि वर्तमान राजनीतिक दल र तिनका नेता अभिषाप हुन भन्ने बुझाई विकास हुन पुग्यो ।

हाल भएको जेन-जेड पुस्ताको आन्दोलन न त कुनै दल विशेषको विरुध्द थियो न कुनै व्यक्ति विशेष विरुध्द नै । यो केवल राजनीति र लोकतन्त्रका नाममा भएको लुट, तस्करी, घुसखोरी, नातावाद, कृपावाद, अनियमितता, वेरोजगारी, नितीगत भ्रष्टाचार, गरिबी, अन्याय, अत्याचार र थिचोमिचोको विरुध्द र यसको अन्त्यको लागि थियो ।

राजनीतक नेतृत्वको यो आन्दोलनलाई हेर्ने सङ्किर्ण र निच सोच तथा सर्वसत्तावादी प्रवृत्तिको कारण राष्ट्रले जे क्षति भोग्नु प¥यो यसको सायदै कल्पना गरिएको थियो ।

यसले इतिहासकै ठूलो धनजनको क्षति भयो भने वर्तमान राजनीतिक नेतृत्वलाई एकपटक ठण्डा दिमागले एकान्तमा बसेर सोच्न बाध्य समेत बनायो । अब राजनीतिक बजारमा एउटा जल्दोबल्दो बहस सुरु भएको छ ूराजनीतिक पुस्तान्तरणू यो शब्द सबैले एक साथ प्रयोग गर्दै आएका छन् ।

अझ दलिय राजनीतिमा लागेर नेतृत्व प्राप्तिको सपना देखेका तर वर्तमान नेतृत्को चित्त बुझ्नेगरी पाउ मल्न नसकेकाहरुको स्वर झन चर्को सुनिन थालको छ ।

के हालको निकास राजनीतिक पुस्तान्तरण मात्र हो रु कदापी होइन १ किन भने विद्यमान नेतृत्व शैली, चाकडी र चाप्लुसी प्रथाबाट विकसित नयाँ पुस्ता र अभ्यास अनि यसैको सेरोफेरोमा हुर्किएको राजनीतिक संस्कारका बिच पुस्तान्तरण त केवल दिवा सपना मात्र हुनेछ ।

राजनीतिमा सुधार ल्याउने हो भने राजनीतिक दलमा रहेका सङ्किण सोच, निरङ्कुश नेतृत्व शैली, चाकडी प्रथा, दास मनोवृत्ति, टिके प्रथा, पैसाले पद खरिद गर्ने प्रचलन, फरक बिचार र मतलाई निषेध गर्ने प्रवृत्ति,परिवारवाद आदि विरुध्द निर्ममतापुर्वक प्रहार गर्नु अनिवार्य हुन्छ ।

यो भनेको रुपान्तरण हो र यसले मात्र शुद्धिकरण हुन्छ । यदि दल र यसका नेतृत्वले रुपान्तरण स्विकार गरी आत्मसात् गर्न सके मात्रै विकृत राजनीतिलाई सहि मार्गमा लयाउन सकिन्छ ।

विश्व राजनीतिको विगत देखि वर्तमान सम्मको प्रवृत्तिलाई हेर्ने हो भने राष्ट्र र जनता प्रति जिम्मेवार, निष्कपट, निष्कलङ्क र इमानदार नेतृत्वले नै देशको हित गरेको तथ्य रहेको छ र उमेरको कुनै प्रभाव रहेको देखिदैन ।

तसर्थ नेपालको विकृत राजनीतिलाई सहि मार्गमा ल्याउनको लागि परिक्षण भईसकेका विकृत नेतृत्वको वहिर्गमन अनिवार्य त छ नै यतिले मात्र पुग्दैन १ यसको लागि बाँकीहरुको पनि रुपान्तरण तथा आवश्यकता अनुसार पुस्तान्तरण अनिवार्य छ । जसले आजका नव युवाले कल्पना गरेको राजनीतिक संस्कार र प्रणालिको विकास भई सुसंस्कृत राजनीतिको विकास हुन सक्छ।

आजको आवश्यकता भनेको केवल पुस्तान्तरण मात्र होइन, अनिवार्य रुपान्तरण सहित आवश्यकता अनुसार पुस्तान्तर हो । वृद्ध उमेरले सुशासनलाई रोकेको इतिहाँस कहीँ कतै छैन् ।

हाम्रो समस्या भनेको पद ओगटी काम केही नगर्ने प्रवृत्ति र नितिगत भ्रष्टाचार हो । आफू पदमा हुँदा गरेको त्यही काम आफू पदमुक्त हुँदा अर्कोले गरेमा बेठीक देख्ने दरिद्र सोच र मानसिकता मुख्य समस्या हो ।

सत्तामा रहन पाइयो भने पहिले गरेका अपराध ढाकछोप गर्न पाइन्छ भनेर सर्वसत्तावदी हुने दुषित मानसिकता मुख्य समस्या हो। व्यक्तिको अनुकुलताको लागि पार्टिको विधान परिवर्तन गर्नु र देशको कानुन परिवर्तन गर्नु अपराधिक मानसिकताको उपज हो ।

यी सबै प्रवृत्तिको समुल नष्ट गर्नु रूपान्तरण हो ।

यो प्रवृतिलाई आत्मसात गरेर तिनै भ्रष्ट नेतृत्वको दौराको फेर समाएर पद, राजनीति र सत्ताको वैतरणी तर्न उद्धत कथित नव जवानलाई हुने पुस्तान्तरणले वर्तमान नवयुवाको माग अनुसारको सुशासन पाउन कदापी सकिदैन ।

यसको लागी त शुद्धिकरणको आवश्यकता मुख्य हो । रुपान्तरणको आवश्यकता मुख्य हो । रूपान्तरणले दुषित पक्षको नष्ट गरि सकारात्मकता वृद्धि गर्न मद्दत गर्दछ ।

तसर्थ हाम्रो आजको आवश्यकता भनेको परिक्षण भएका भ्रष्ट नेतृत्वको बहिर्गमन सहित रुपान्तरण हो नकि पुस्तान्तरण ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस