काठमाण्डौ । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
आकर्षक तलबको प्रलोभनमा पारी साढे ३२ लाख रुपैयाँ ठगी गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डौको तारकेश्वर नगरपालिका–५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अधिकारीले बेलायत पठाइदिने भन्दै एक जनाबाट ३२ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
उनलाई काठमाण्डौ महानगरपालिका–२६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।