धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) पाँचौ सिद्धलेक शिवरात्री मेला-२०८१ हुने भएको छ ।
सिद्धलेक गाउँपालिकाको प्रायोजनमा फागुन १४ गते महाशिवरात्री पर्वको अवसर पारेर सिद्धलेक ढेवाडाँडा समाज नेपालले शिवरात्री मेला आयोजना गरेको सिद्धलेक ढेवाडाँडा समाजका सल्लाहाकार अमृत गुरुङ (तिलक) ले धादिङ आवाजलाई जानकारी दिनुभयो ।
सिद्धलेकमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विगत ५ बर्ष यता मेलालाई निरन्तरता दिईएको सल्लाहाकार गुरुङले बताउनुभयो ।
उक्त मेलामा राष्ट्रिय कलाकार चर्चित गायक अर्जुन सापकोटा, गायीका भूमिका गिरी, कौडा गायक पृथ्वी गुरुङ, गायक नवराज काप्री(भाले), गायिका बिन्दा परियार, गायक प्रदिप बराईली, डान्सर प्रवेश श्रेष्ठ, मोडल तथा सर्जक रविन गुरुङ, गायक मिलन विश्वकर्मा, मोडल तथा जादुगर अमिस उपरकोटी, मोडल टिका भुजेल र गायक विकास राना मगर लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहने सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिल नारायण श्रेष्ठले बताउनुभयो।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केही बर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ।
आयोजकले उक्त मेलामा सहभागी हुन सम्पूर्णलाई अपिल गरेको छ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको यस सिद्धलेक तथा ढेवाडाँडामा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा हरेक बर्ष श्रद्धालु भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ।
सिद्धलेककै साथमा रहेको १ हजार ५२५ मिटर अग्लो ढेवाडाँडा रहेको छ।
त्यहाँबाट धादिङ जिल्लाको सल्यानटार बाहेक साविकको ४९ वटा गाउँ विकास समितिहरु, हिमश्रृङ्खला, मनोरम हरियाली, जैविक विविधता र अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।
सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले जिल्लाकै अत्यन्तै महत्वपूर्ण स्थलको रूपमा लिइन्छ । तर पर्यटन प्रवद्धन भने हुन सकेको छैन।
सरोकारावालहरुले सिद्धलेकको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको छ।