काठमाडौं । छ महिनाको अवधीमा सडक दुर्घटनाका कारण १ हजार २ सय बढिको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको छ महिना साउनदेखि पुस मसान्तसम्म ११ हजार ३ सय ३८ सडक दुर्घटनामा १ हजार २३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा १ हजार १४९ जनाको मृत्यु भएको थियो ।
लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो ।
गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको मृत्यु भएको विवरण छ ।
त्यस्तै मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको विवरणमा उल्लेख छ।