धादिङ । धादिङमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरु गरिएको छ ।
जिल्लामा पहिलो पटक सदरमुकाम धादिङबेशी रहेको नीलकण्ठ नगरपालिका वडा नं ३ बाट शुक्रबारदेखी सेवा प्रवाह तथा अनलाइन सिफारिस कार्यको शुभारम्भ गरिएको छ।
नागरिकलाई सरकारी सेवाहरूको सहज पहुँच सुनिश्चित गर्नु र अनलाइन माध्यमबाट सिफारिस प्राप्त गर्ने प्रक्रिया सरल र प्रभावकारी बनाउने उद्देश्यले धादिङमा अनलाइन सिफारिस शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । उहाँका अनुसार यो सेवा जिल्लाको १ सय ४ वटै वडामा सेवा सुरु गरिने छ ।
सेवाग्राहीलाई झन्झट मुक्त र सरल रुपमा सेवा प्रवाह गर्न अनलाइन सेवा सुरु गरिएको भन्दै प्रजिअ घिमिरेले अब हातले लेखिएको सिफारिसलाई मान्यता नदिने बताउनुभयो ।
प्रणाली सुरु गर्न सबै गाउँपालिका तथा नगरपालिकाका सबै वडामा कार्यान्वयन गर्न र गराउन गृह मन्त्रालयबाट १०४ वटै वडाका कर्मचारीका लागि अभिमूखिकरण भईसकेको बताउनुभयो ।
साथै वडाबाट नागरिकताको अनलाईन सिफारिस शुभारम्भ गर्न आफ्नो कार्यक्षेत्रका वडामा आवश्यक व्यवस्था मिलाउन र सम्पर्क कर्मचारी तोकि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई दिन सबै गाउँपालिका तथा नगरपालिकालाई प्रजिअ घिमिरेले अनुरोध गर्नुभएको छ ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्माले अनलाइन सिफारिस प्रणालीले नागरिकहरूको सेवा प्रवाहमा महत्वपूर्ण कदम अघि बढेको बताउनुभयो। यस प्रणालीको आरम्भले कार्यक्षमता र पारदर्शिता दुवैलाई बढावा दिने भन्दै उहाँले सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्न सकिने र नागरिकलाई अझ सरल र पारदर्शी सेवा सुविधा प्रदान गर्न मद्दत् पुग्ने बताउनुभयो।
नीलकण्ठ नगरपालिका–३ का कार्यबाहक वडा अध्यक्ष सम्झना विकले वडा नम्बर ३ बाट सेवा सुरु गरिएकोले वडाबासीलाई सेवा लिन आग्रह गर्नुभएको छ ।
यस्तै वडा सदस्य सन्तोष थापाले यो सेवा सुरु गर्न नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडालाई छानेको र यो सेवा सुचारु गरेकोमा धन्यवाद दिदै यो सेवाबाट धेरै भन्दा धेरै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, प्रवक्ता एवम वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतले सेवा प्रभावकारी रहने विश्वाससँगै शुभकामना दिएका छन् ।
नागरिकता अभिलेखको अनलाइन प्रणाली सुदृढ गर्न गृह मन्त्रालयले व्यक्तिगत घटना दर्ता (पंजिकरण) प्रणाली (VERS) मा आवद्ध गरी नागरिकताको अनसूची फाराम वडा कार्यालयबाट सिफारिस गर्न अनलाइन प्रणाली विकास गरेको हो ।