धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको सुनौलो भैरवी माध्यमिक विद्यालयमा विद्यार्थीसंग मेयर कार्यक्रम सञ्चालन गरिएको छ।
आइतवार नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानासंग विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र अन्य सरोकारवालासंग छलफल गरिएको थियो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टका अनुसार कार्यक्रममा सुनौलो भैरवी माध्यमिक विद्यालयको शैक्षिक सुधार, बलमैत्री स्थानीय शासन, पूर्वाधार विकास, आर्थिक पारदर्शिता लगायतका विषयमा दोहोरो छलफल भएको थियो ।
विद्यालय सुधारका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुबाट सुझाव लिने, शिक्षामा नगरपालिकाबाट भैरहेका कामहरु जानकारी गराउने, बालमैत्री स्थानीय शासन अवलम्वनका लागि प्रतिवद्धता लिने लयायतका उद्देश्यले विद्यार्थीसंग मेयर कार्यक्रम गरिएको भट्टले बताउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले नगरप्रमुख ढुंगाना सामु विषयगत शिक्षकको अभावमा अध्ययनमा समस्या भएको, खेलकुदका सामाग्री नहुँदा विद्यार्थिको वृत्तविकास हुन नसकेको, शिक्षकहरु बालमैत्री नभएको, विज्ञान प्रयोगशाला कमजोर रहेको लगायतका गुनासाहरु राखेका थिए।
त्यसैगरी अभिभावकहरुले विद्यालयसम्म पुग्ने बाटो स्तरउन्नती गर्नुपर्ने, अलपत्र अवस्थामा रहेको भवन निर्माण कार्यलाई पूर्णता दिनुपर्ने, शिक्षकहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने, व्यवस्थापन समिति गठन, शिक्षक नियुक्ति र सरुवामा राजनीतिक हस्तक्षेप हुन नहुने विषयहरु उठाएका थिए ।
छलफलमा उठेका विषयहरुलाई संवोधन गर्दै नगर प्रमुख ढुंगानाले नगरपालिकाको श्रोत साधनले धानेसम्म विद्यालय सुधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
ढुंगानाले विषयगत शिक्षकको व्यवस्था छिट्टै गर्ने, खेलकुदका सामाग्री तत्काल उपलव्ध गराउने, विज्ञान प्रयोगशालाको स्तरउन्नती गर्ने र भौतिक पूर्वाधारमा आगामी वर्षको कार्यक्रममा बजेट व्यवस्था गर्ने बताउनुभयो ।
नगर प्रमुख ढुंगानाले नगरपालिकाले छिट्टै बालमैत्री स्थानीय शासन अवलम्वन गर्न लागेकाले सबै विद्यालयमा दण्ड रहित शैक्षिक वातावरण बनाउन निर्देशन पनि दिनुभयो ।
अहिलेका बालबालिका भोलिका राष्ट्र निर्माणका शक्ति भएको बताउँदै ढुंगानाले बालबालिकाको भविष्य प्रति चासो राख्न अभिभावकसंग आग्रह गर्नुभयो ।
विद्यालय पठाउँदैमा मात्रै बालबालिकाको पढाई राम्रो नहुने भन्दै नगर प्रमुख ढुंगानाले अभिभावकले घरमा पनि बाल मैत्रीपूर्ण व्यवहार गर्दै समय दिनुपर्ने बताउनु भयो ।
शैक्षिक संस्था राजनीतिबाट टाढा रहनुपर्छ भन्दै नगर प्रमुख ढुंगानाले कुनैपनि विद्यालयमा राजनीतिक हस्तक्षेप हुन नदिने र आफूपनि नगर्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकाले कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको बताउँदै शिक्षा क्षेत्रमा नीलकण्ठले ठुलो फड्को मारेको दाबी गर्नुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले आफ्नो कूल बजेटको ४५ प्रतिशत शिक्षा, युवा तथा खेलकुदमा लगानी गरेको तथ्यांक प्रस्तुत गर्नुभयो।
छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पाठकले विद्यालयले गरिरहेका कार्यक्रमहरु र आगामी योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
छलफलका क्रममा अभिभावहरुले विद्यालयको लेखापरीक्षणका विषयमा कुरा उठाएका थिए ।
विगतको विद्यालय प्रशासनले आर्थिक अनियमितता गरेको, अख्तियारमा उजुरी रहेको र बरबुझारत समेत नगरेको विषय चर्को रुपमा उठेको थियो ।
यस विषयमा नगर प्रममुख ढुंगानाले छानविन गर्न सामाजिक विकास समितिका संयोजक मञ्जु मगरको संयोजकत्वमा समित गठन गरेको समितिले काम गरिरहेको बताउनु भयो ।
समितिको प्रतिवेदनपछि सबै विषय टुंग्याउने र आर्थिक अनियमितता भेटिए असुल उपर गरेरै छाड्ने बताउनु भयो।
कार्यक्रममा विद्यार्थी र नगरप्रमुखबीच खुला संवाद भएको र आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो।
विद्यार्थीसँग मेयर जस्तो कार्यक्रम विद्यार्थी र स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ बनाउने एउटा उत्कृष्ट पहल भएको सहभागीहरूले बताएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको अन्त्यमा नगरप्रमुख ढुंगानाले विद्यार्थीहरूलाई आफ्ना समस्या तथा सुझावहरू निरन्तर राख्न आग्रह गर्दै आगामी दिनमा पनि यस्तो संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यार्थीसंग मेयर कार्यक्रमलाई रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्माले सहजीकरण गर्नुभएको थियो ।