धादिङ । सदरमुकाम धादिङबेशीमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव हुने भएको छ।
नीलकण्ठ नगरपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा फागुन २४ गते दिवसको अवसर पारेर नगरपालिका भित्रका महिला उद्यमीहरुलाई थप प्रोत्साहन दिने र व्यवसायमा अब्बल बनाउने उद्देश्यले महिला उद्यमशीलता उत्सव गर्न लागिएको नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो।
उत्सवमा नगरपालिका भित्र रहेका महिलाहरुले उत्पादन गरेका वस्तुहरुको स्टल राखि विक्रि वितरण तथा प्रर्दशनी, विभिन्न सचेतना मुलक गीत, तथा नृत्य प्रस्तुत गरिने उहाँको भनाई छ।
सोमबार नगरपालिका कार्यालयमा बसेको बैठकले गैसस महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय समेत गठन गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवदीले यो उत्सवले प्रदर्शन मात्र नभएर बजारीकरणमा पनि ठूलो सहयोग पुग्ने बताउनुभयो।
विश्वभर प्रत्येक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको छ।
नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ।यस वर्ष सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ दिवस मनाईदै छ।