२०८२ बैशाख २३, मंगलबार

चुडाँमणी कँडेलको हत्यामा संलग्न तिन जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ बैशाख २१, आईतबार
चुडाँमणी कँडेलको हत्यामा संलग्न तिन जना पक्राउ

धादिङ । गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीका ६० वर्षीय चुडाँमणी कँडेलको हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरु सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

चुडाँमणी कँडेल २०८१ चैत २७ गते आफ्नै घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट तथा बाथरुमभित्र मृत भेटिएका थिए ।

घाटीमा डोरी कसिएको अवस्थामा भुँइमै शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

उहाँका अनुसार प्रजालाई २०८२ वैशाख ३ गते डुँडेठाँटीबाट, थिङ र मुक्तानलाई २०८२ वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरिएको हो।

मृतक चुडाँमणी कँडेल र श्रीमती सुस्मिता सिलवालविच बोलचालै बन्द हुने गरि सम्बन्ध बिग्रेको,आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ सुपारी दिएको, प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई साथ लिई सुस्मितालाई धेरै पटक मार्ने प्रयास गरेको तर लामो समयसम्म प्रयास गर्दा पनि उनीहरुको योजना विफल भएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक शाहीको भनाई छ ।

श्रीमती मार्ने सुपारी लिएका अक्कलबहादुरले काम गर्न नसकेपछि कँडेलले छिटो काम गर्न र काम गर्न नसके चार लाख रुपियाँ फिर्ता गर्न दबाब दिइएको र धेरै नै दबाब दिएपछि सुपारी दिने कँडेललाई नै मार्ने योजना बनाएर उनको घरमा गएर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, प्रजाको कोठाबाट कँडेलले दिएको नगद १ लाख रुपैयाँ , कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफ पाइन्ट, अभियुक्तहरूले मृतक कँडेलको फुटाएर फालेको फोन बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस