पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ।बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो ।
कोटिहोममा देशभरका जिल्लाबाट विभिन्न सङ्घ संस्था, आमा समूह व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको मानव सेवा फाउन्डेसनले जनाएको छ ।
कोटिहोममका भोलि शुक्रवार चर्चित गायिका पोखरेली चेली समीक्षा अधिकारी र शनिवार चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन प्रस्तुति तथा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार आइतबार लोकदोहोरी गायिका अस्मीता डल्लाकोटीको पनि सहभागिता रहने छ।
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पीकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा.तुलसी प्रभास खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । उक्त अवसरमा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ।