२०८२ बैशाख २६, शुक्रबार

नीलकण्ठ नगरपालिकाले मनायो १२औं स्थापना दिवस (फोटोफिचर)

  • धादिङ आवाज
  • २०८२ बैशाख २६, शुक्रबार
नीलकण्ठ नगरपालिकाले मनायो १२औं स्थापना दिवस (फोटोफिचर)

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १२औं स्थापना दिवस,दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७१ साल वैशाख २५ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका गठन भएको थियो। उक्त गठन भएको दिन बैशाख २५ गतेलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

सोही अनुरुप यस वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

दिवसको अवसरमा बिहिबार भएको मुल समारोह कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

मन्त्री शाहीले रुद्राक्षको बिरुवामा पानि हालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले प्रयोगविहिन भएर खेर गइरहेको स्वदेशी काठ प्रयोग गरि विदेशी काठको प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रममा सुधार गरेको बताउनुभयो ।

दिगो वन व्यवस्थापन रणनिति लागु गरेर स्वदेशी काठ उत्पादन तथा प्रयोग गरि रोजगारीसँग जोड्ने तयारी गरेको भन्दै उहाँले वन क्षेत्र देशको मूख्य आम्दानीको श्रोत बन्ने गरि कार्यक्रम लागू गर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नगरबासीले चाहे जस्तै नगरपालिकामा विकास भएको बताउनुभयो ।नगरपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा काम गरिरहेकोले आम नागरिकको जनजीवन फेरिने गरि काम भएको बताउनुभयो ।

यस्तै नगर उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकामा अझै धेरै कामहरु गर्न बाँकी रहेको भन्दै विकास निर्माण, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभयो ।

स्थापना दिवसकै अवसरमा नगरपालिकालेविभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगिता समेत आयोजना गरेको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बिहिबार प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो भने नगरपालिकाका बर्ष उत्कृष्ट पाँच जना कर्मचारी जनही नगद २५ हजार सहित सम्मान गरिएको थियो ।

यसैगरी सोही कार्यक्रमको अवसरमा राष्ट्रिय खोप कार्यक्रम अन्तरगत नगरपालिकाले आ.व. २०८१/०८२ मा बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण घोषणा समेत गरेको छ।

कार्यक्रमका केही तस्विरहरु

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस