धादिङ । जिल्ला सदरमुकाम धादिङबेसी केन्द्रित ट्राफिक प्रहरीको ज्यादती आम नागरिकसम्म नै छताछुल्ल हुन पुगेको छ ।
ट्रक, ट्रिपर, बोलेरो जीपका चालक होस् या मालिक सबैको एउटै गुनासो छ–‘ट्राफिक प्रहरीले हैरान पा¥यो ।’
सदरमुकामबाट ग्रामीण भेग आउजाउ गर्ने सवारीसाधनसँग ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्छन् भन्ने कुरा नयाँ होइन। मासिक रुपमा रकम बुझाउने भएपछि अहिले धादिङबेसीको सडकमा नै बोलेरोहरु खुलेआम रुपमा खचाखच मान्छे बोकेर हुईकिरहेको देख्न पाइन्छ ।
‘ट्राफिकलाई महिनावारी पैसा नबुझाए गाडी चलाउनै सकिदैन,मासिक रुपमा न्युनतम एक हजार नबुझाए रित्तै भएको बेला पनि अनेक बाहानामा चिट काटिदिन्छ, महिनामै दशौं पटक चिट काट्नुभन्दा एक हजार बुझाएर ढुक्कले हिड्न पाइन्छ,सांङ्कोष तिप्लिङ सडकमा बोलेरो चलाउदै आएका एकजना चालक भन्छन् ।’
आवश्यक कागजपत्र सहिसलामद साथमा हुँदा होस् या नहुँदा अनेकन बहानामा दुःख दिने गरेको अधिकांश चालकहरु गुनासो गर्छन् । तर, पैसा बुझाएको बारे हल्ला गरे झन बढी ट्राफिकको कारबाही खेप्नुपर्ने त्रासले कुनैपनि चालकहरु नाम सार्वजनिक गर्न चाहदैनन् ।
विशेषगरी नीलकण्ठ नगरपालिका–३ धादिङबेसी बजारबाट ग्रामीण भेगमा खाद्यान्न र यात्रु बोक्दै आएका बोलेरो जीपहरु ट्राफिकको निशानामा छन् ।
नियम विपरित गुडेका सवारीसाधनलाई कानून बमोजिम चिट काट्नु र कारवाही गरी कानूनी दायरामा ल्याउनु ट्राफिक प्रहरीको जिम्मेवारी हो ।
तर, चिट नकाटीकनै नगद खल्तीमा हाल्ने र चिट नकाटीकनै मासिक रुपमा रकम उठाउने गरेको तथ्य बाहिरिएपछि पछिल्लो समय ट्राफिक प्रहरीको बदनाम भएको छ ।
केही समयअघि दुई जना यातायात व्यवसायीले सामाजिक संजालमा लेखेको पोष्ट र कमेन्टबाट पनि प्रष्ट हुन्छ–‘ट्राफिक प्रहरीले पछिल्लो समय ज्यादती मच्चाएकै रहेछन्।’
सामाजिक संजालमा पोष्ट भएका सामाग्रीहरुमा आएकोे कमेन्टहरुले ट्राफिक प्रहरीले धादिङबेसी आसपासमा देखाइरहेको हर्कतलाई सर्लक्कै केलाइदिएको छ ।
रुटिन अफ धादिङ कन्डिशन नामको एउटा फेसबुक पेजले हालेको पोष्टमा गएर धादिङका बस व्यवसायी राजेश प्रजापतिले व्यङ्ग्य गर्दै लेखेका छन्–‘महिनावारी जो चलेको छ ? प्रयोजन विपरित सवारीबाट मासिक दुई हजार, लोकल भाले, घ्यु, लोकल चामल, माछा, मासु (…) घिच्न पाएको छ । अनि कसरी हुन्छ कारबाही ? ट्राफिक प्रहरीको भुँडी हेर्नु न भुँडी ।’
चालकहरुका अनुसार अफिस कलरको रुपमा कार्यालयभित्रै ड्युटी खटिने ट्राफिक प्रहरीले झन फिल्डमा खटिनेले भन्दा धेरै सताउँछन् । कारबाहीमा परिसकेपछि भौचर लिएर कागजपत्र लिन पुग्दा होस् या चिटै नकाटी लिएको कागजपत्र बुझ्न कार्यालय पुगेका चालकसँग खुलेआम खाइखर्च माग्छन् ।
गाउँबाट झरेका चालकहरुले कोसेली बोकेर अफिस पुग्नुपर्छ । अफिस कलर भन्नाले कारबाहीमा काटिएका चिट सिस्टममा इन्ट्री गर्नेदेखि कार्यालयको आन्तरिक काममा खटिने प्रहरी हुन् । तर अफिस मै बसेर बिना चिट मासिक भत्ता थाप्ने पनि ती अफिस कलर नै हुन् ।
यसरी चालकसँग उठाएको पैसा पोष्ट अनुसार बाँडीचुँडी लिने आन्तरिक सिस्टम रहेको श्रोतको भनाई छ । करिब एक महिनाअघि ट्राफिक प्रहरी पोष्ट धादिङबेसी आएका प्रहरी जवान बेगम पोखरेल र सहायक हवल्दार काशीराज जोशीको जोडी अहिले धादिङबेसीमा निकै जमेको छ ।
उनीहरुको अस्वभाविक चुरिफुरीले अधिकांश चालक आजित छन् । आफ्नो उपस्थिति देखाउन बजार क्षेत्रमा दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्तालाई कागजपत्र चेकजाँच गर्ने नाममा दुःख दिने गरेका छन् ।
उनीहरु जोकोहीलाई होस् अपशब्द बोल्न समेत पछि पर्दैनन्। चालकहरु भन्छन्–‘१५ महिना नागढुंगा बसेर आएका हौं, नियम नसिकाउ भन्दै छाडा बोलेर थर्काउँछन् । केही न केही बहाना बनाएर दुःख दिन्छन् । भनेको नमाने सानो कमजोरी देखाएर ठूलो चिट थमाइदिन्छन् ।’
ट्राफिक प्रहरीले चलाउने एउटा टुकटुके (सानो) मोबाइल सेट छ । त्यहि मोबाइलमा गाडी नम्बर इन्ट्री गरेर राखेका हुन्छन् । र, महिना पुग्न लागेपछि चालकहरुलाई अग्रिम जानकारी गराउँछन् ।
मासिक डायरी अनुसार बेलैमा रकम नबुझाए भेटेको दिन सिधै कारबाही भोग्नुपर्ने चालकहरुको भनाई छ । ‘टाइम पुग्यो खै त भेटघाट ? अफिस आउनु प¥यो भन्छ । भेट्न गएन भने चिट नकाटी ब्लुबुक वा लाइसेन्स लान्छ । गएर भेटेपछि एक महिना वास्ता गर्दैन’, नाम सार्वजनिक नगरिदिने कसम खाएपछि एकजना चालकले ट्राफिक प्रहरीको व्यवहारको फेयरिस्त बताए ।
सिरानबजार हुँदै धुवाकोट, सेम्जोङतर्फ चल्ने, बीचबजारबाट सुनौलोबजारतर्फ चल्ने, पुछारबजार बगैँचा हुँदै खरी, मैदी र त्रिपुरासुन्दरी गाउँपालिकाका बस्तीहरुमा आउजाउ गर्ने, ससाह हुँदै ज्वालामुखी र सिद्दलेकका ग्रामीण बस्तीहरुमा चल्ने करिब दुई सय बढी बोलेरो जीपहरु छन् ।
साङ्कोेष तिप्लिङ सडकमा मात्रै ६० वटा भन्दा बढी बोलेरो जीप चल्छन् । किङ्ताङफेदी, मार्पाक, गुम्दी, कटुङ्जे, फुलखर्क लगायत गाउँका सामान र तीनै ठाउँका मान्छे ओसारपसार गर्छन् ।
निर्माण सामग्री ओसारपसार ट्रिपर, पहाडी बस्तीहरुसम्म चल्ने सौराज ट्रक, सदरमुकाम आसपासमै सामान ओसारपसार गर्ने एक सय सवारी साधन छन् ।
यी सबै ट्राफिक प्रहरीको मागिखाने भाँडो हो ।
यस्ता अधिकांश सवारीसाधनसँग न्युनतम मासिक एक हजार उठाउछन् । वर्षाैदेखि कागजपत्र नविकरण नभएका थोत्रा ट्रक, गुड्दा गुड्दै पाङ्ग्रा फुस्केला जस्ता साना सवारीबाट त कति असुल्छन् गन्ती गर्नै सकिदैन ।
डिजल हाल्न पम्पमा गएको बेला यस्ता गाडीहरु ट्राफिकको टार्गेटमा पर्छन् ।
हुन त बोलेरोहरुले पुरै नियम पालना गरेका हुन्छन् भन्ने होइन । बोलेरोमा चालक सहित पाँच जनाको सिट क्षमता हुन्छ । मुख्य सडकहरुमा बस चलेपनि भित्री बाटोहरुमा बस जान सक्दैन । गाडी भइभई मान्छेहरु हिँड्न चाहँदैन । गाउँघर चल्ने बोलेरोलाई मान्छे बोक्नैपर्ने बाध्यता छ ।
खरी, मैदी चल्ने बोलेरोका चालकहरु भन्छन्– ‘नचढ्नुस् भन्दा पनि चढ्नुहुन्छ । जबरजस्ती छोडेर गयो भने भोलीपल्टदेखि गाउँमा छिर्नै पाइदैन, मान्छे बोक्नु हाम्रो बाध्यता हो । पैसा नतिरिकन कुनै गाडी चल्नै सक्दैन, को संग कति उठाउछ मात्रै फरक हो ।’
बसका चालक र मालिकहरुलाई भने ट्राफिक प्रहरीको प्रेसर अलि कम छ ।
किनकी यातायात व्यवसायी संघहरुले नै आधिकारिक रुपमा मासिक रकम भरिदिन्छन् । व्यवसायी संघहरुसँग घरभाडा तिर्न भनेर मासिक १० हजारसम्म थाप्छन् । चाडपर्व खर्च, माछामासु, दारुपानीको त हिसाबै छैन । आकलझुकल दुई/चार हजार दिनैपर्छ ।
लामो समयदेखि धादिङको यातायात व्यवसाय सुधारको अभियानमा रहेका जय भट्ट भन्नुहुन्छ,‘ट्राफिक प्रहरी र सुरक्षा निकायकै कारण वेथिति मौलाएको हो ।’
व्यवहारिकता पनि हेर्नुपर्छ, अवैध ढंगबाट रकम उठाउनु ठिक होइन भन्ने ट्राफिक प्रहरीहरु हाकिमको नजरबाट तुरुन्तै हट्छन्। तर, ट्राफिक प्रहरी पोष्ट धादिङबेसीका इन्चार्ज बरिष्ठ सहि सुरेन्द्र विष्ट यी कुनैपनि कुरा स्वीकार्न तयार छैनन् ।
आफु धादिङबेसी आएदेखि एक सय भन्दा बढी गाडीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएर कारबाही गरिएको मात्रै दावी गर्छन्।
धादिङको जिम्मेवारी सम्हालेर आएको दिनदेखि नै सडकमै उभिएर मान्छे बोकेका बोलेरो र रातो प्लेटको सवारीलाई २०/२० हजारसम्म चिट हान्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी उपरीक्षक दीपेन्द्र शाही अहिले चुपचाप छन् ।
सडकमा खुलेआम यस्ता सवारी चलिरहेकै छ तर, आँखा चिम्लिएर हिँडेका हुन् वा नदेखेका हुन् ? सहजै अनुमान लगाउन सकिन्छ।