धादिङ । धादिङको गजुरी गाउँपालिका-६ स्यामीडाँडामा रहेको जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक राधा कँडेललाई अन्य विद्यालयमा सरुवा गरेको विरोधमा स्यामैडाडाँका अभिभावकले विद्यालयमा ताला लगाएका छन्।
लामो समयदेखि चेपाङ समूदायका बालबालिकालाई अध्यापन गराउनुभएका प्रधानाध्यापक कँडेललाई अन्य विद्यालयका सरुवा गरेको विरोधमा स्यामैडाडाँका चेपाङ अभिभावकले विद्यालयमा अनिश्चितकालिन ताला लगाएका हुन् ।
शिक्षक महासंघको आन्दोलनको सहमति विपरित शिक्षक दरबन्दी मिलान व्यवस्थापनको नाममा शिक्षकहरुको सरुवा कानुन विपरित भएको शिक्षक संगठनहरुले विज्ञप्ती निकालेर विरोध जनाइसकेका छन् ।
गजुरी गाउँपालिकाले बैशाख २२ गते कँडेल लगायत २४ जना शिक्षकलाई शिक्षक दरबन्दी मिलान, व्यवस्थापन २०७६, गाउँपालिका शिक्षा ऐन २०७९, लगायतका बुँदा उल्लेख गरि आधारभुत तहका शिक्षकहरुलाई राजनितिक पूर्वाग्रह राखेर सरुवा गरिएकोले शिक्षकहरुले मात्र नभइ अभिभावकहरुले समेत विरोध जनाएर आन्दोलनमा उत्रिएको जनाएका छन् ।
जनचेतना आधारभूत विद्यालयमा ताला लगाएपछि अभिावकहरुले पढाइरहेको मानिसले नै पढाउनु पर्ने, गाउँपालिकाले गरेको सरुवा रद्ध गर्नु पर्ने र नयाँ आउने शिक्षकलाई विद्यालय आउन नदिने भन्दै माग पुरा नभएसम्मका लागि तालाबन्दी गरिएको जनाएको छ ।
विद्यार्थी भर्ना अभियान कूशलतापूर्वक सम्पन्न भएपछि नेताका श्रीमतिलाई सो विद्यालयमा ल्याउनका लागि सरुवा गरिएकोले यस किसिमको आस्थाको आधारमा गरिएको सरुवा रद्ध हुनुपर्ने अभिभावकहरुको माग छ ।
गजुरी गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी भएकोले माओवादी कार्यकर्तालाई सुविधा हुने गरि गरिएको सरुवा भएपनि माओवादी निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षक सरुवाको विरुद्ध अन्य संगठनहरुसंग मिलेर बैशाख २४ गते प्रेस विज्ञप्ती प्रकाशन गरेको छ ।
विज्ञप्ती राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त विज्ञप्ती प्रकाशन गर्दै शिक्षक कर्मचारीको प्रतिनिधित्व विना एकलौटी रूपमा गाउँ शिक्षा समितिबाट शिक्षक कर्मचारी दरबन्दी (मिलान तथा व्यवस्थापन) र विद्यालय समायोजन कार्यविधि २०८१ निर्माण भएको र सोही कार्यविधि अनुसार गरिएको शिक्षक कर्मचारीको पदस्थापन तथा सरुवा शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९को नियम ९९ विपरीत भएकोले गाउँ शिक्षा समितिबाट भएको सोही निर्णय अविलम्ब फिर्ता लिई शिक्षक कर्मचारीलाई यथावत् रही कामकाजको वातावरण मिलाउन माग गरेको छ ।
शिक्षक आन्दोलनको समर्थनमा पालिका अध्यक्षको तर्फबाट विज्ञप्ती निकालेर सरकारलाई तत्काल माग पुरा गराउन माग गर्नुभएका गजुरी गाउँपलिका अध्यक्षले शिक्षकको सरुवा विद्यमान कानून, ऐन र निर्देशिका विपरित भएको भन्दै अभिभावक र शिक्षक संगठनहरुले विरोध जनाइरहेको बेला गरिएको शिक्षकहरुको अपायक सरुवाले शैक्षिक स्थितिमा समेत समस्या पर्ने भएको छ।