२०८२ अषाढ १, आईतबार

जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्धन्द व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २, शुक्रबार
जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्धन्द व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

धादिङ । धादिङमा जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्धन्द व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय धादिङको आयोजना तथा ग्रिन क्लाईमेट फण्ड, आईयुसिएन, एनटिएनसीको सहकार्यमा गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना अन्तरगत शुक्रबार धादिङबेशीमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यशालामा डिभिजन वन कार्यालय धादिङका प्रमुख डिभिजनल अधिकृत बिष्णु प्रसाद आचार्यले मुलुकका ग्रामीण क्षेत्रको बस्ती खाली हुँदै जानु र बाँझिएका जग्गा जङ्गलमा परिणत हुनाले जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भई दिन प्रतिदिन मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको बताउनुभयो ।

प्रकृतिका हरेक स्रोत र साधनमाथि पृथ्वीमा भएका सबै जीवको समान हक हुने भन्दै उहाँले मानवजाति असीमित आवश्यकता पूर्तिका लागि प्राकृतिक स्रोतको दोहन गर्दा अन्य जीवको न्यूनतम जीवनको अधिकार हनन गरिरहेको बताउनुभयो ।

प्रकृतिमाथि चरम मानवीय दोहनका कारण पृथ्वीको धान्ने क्षमतामा चुनौती मात्र थपिएको छैन प्राकृतिक स्रोतमा निर्भर वन्यजन्तु सङ्कटमा पर्दै गएको उहाँको भनाई थियो ।

आफ्नो प्राकृतिक बासस्थान तथा आहारामाथि मानवीय दख्खल बढिरहँदा वन्यजन्तु अस्तित्व रक्षाका लागि कहिले हिंस्रक हुने त कहिले आहारको खोजीमा मानव बस्ती तथा कृषिक्षेत्रमा छिर्न बाध्य भएको आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मानिस वन्यजन्तु द्वन्द्वका कारण एकातिर धनजनको क्षति हुने र अर्कोतिर वन्यजन्तुप्रति हुने प्रतिशोधपूर्ण व्यवहारबाट वन्यजन्तुलाई क्षति पुग्ने गरेको छ । वन्यजन्तुबाट मानवीय क्षति, पशुधनको क्षति तथा खाद्यान्न बालीको क्षति हुने गरेको छ । मानिसबाट वन्यजन्तुमाथि आक्रमणसँगै वन्यजन्तु घाइते तथा मृत्यु हुने, अवैध चोरीसिकार, वासस्थान विनाश तथा खण्डीकरणजस्ता क्रियाकलाप हुने गरेका छन् ।’

द्वन्द्वको यो अवस्थाले वन, वन्यजन्तु तथा जैविक विविधताका बारेमा आममानिसमा नकारात्मक धारणाको विकास हुने र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको चासो तथा सहभागितामा कमी आउने बताउनुभयो ।

गोष्ठीमा जिल्लाको बिभिन्न बन समुहका प्रमुख एवम प्रतिनिधी, समाजसेवी, जनप्रतिनिधीहरु सहभागी थिए ।

कार्यशालामा सहभागीहरुले पहाडी जिल्लामा बाँदरले मच्चाउने गरेको व्यापक वितण्डाले मिहेनत र लागत लगाएको खेती जोगाउन नसक्दा निराश किसानले खेती गर्न छोडी आफ्नो खेतबारी बाँझो राख्ने गरेको बताएका थिए ।

यसको नियन्त्रण तथा व्यवस्थापनमा सरकारले चासो नदेखाएको गुनासो गरेका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस