२०८२ जेष्ठ ३१, शनिबार

धादिङ अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ७, बुधबार
धादिङ अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

धादिङ । सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको छ ।

काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा विशेषज्ञसहितको इन्डोस्कोपी सेवा सुरु गरिएको हो ।

शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो ।

धादिङ अस्पतालमा यो सेवा पहिलो पटक सुरु गरिएको उहाँको भनाई छ ।

इन्डोस्कोपी गर्न एन्डोस्कोप नामक विशेष उपकरण प्रयोग गरिन्छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो । जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ ।

पेट दुखाइको कारण पत्ता लगाउन, अल्सर, ट्युमर, सुजन, रक्तस्राव जाँच गर्न, जीवाणु/नमूना संकलन गर्न, सानो शल्यक्रिया गर्न जस्तैः पोलीप हटाउने एन्डोस्कोपी गरिने डा.अधिकारीले बताउनुभयो ।

बागमती प्रदेश सरकार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपकरण सहयोग गरेको हो । यस सेवाले स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग र परिवर्तन ल्याउने उहाँको भनाई छ ।

अस्पतालले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन इन्डोस्कोपी सेवा विस्तार गरिएको धादिङ अस्पतालका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनुभयो ।

अस्पतालमा थुप्रै खालका विशेषज्ञसहितका सेवाहरु विस्तार भएको भन्दै उहाँले स्थानीय तथा सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गरि इन्डोस्कोपी सेवा सुरु गरिएको बताउनुभयो ।

जिल्लामा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालमा हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितको विशेषज्ञ ओपिडी सेवा प्रवाह गरिरहेको छ ।

अस्पतालमा अहिले बिशेषज्ञ चिकित्सक,मेडिकल अधिकृत,चिकित्सक र अन्य सेवाका गरी एक सय ५० भन्दा बढि कर्मचारी कार्यरत रहेका अस्पतालका निमित्त निर्देशक डा.अधिकारीले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस