धादिङ । धादिङको सिद्धलेक गाउँपालिका १ नलाङ स्थित नयाँबस्ती (बेलडाँडा) मा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
शनिबार बागमती प्रदेश सभा सदस्य एवम निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेलले सिद्धलेक बृहत खानेपानी योजना कार्यक्रम अन्तरगत निर्माण सम्पन्न भएको नयाँ वस्ती खानेपानी योजनाको उद्घाटन गर्नुभएको छ ।
उद्घाटन गर्दै जम्कटेलले यस योजनाले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।यो आयोजना बन्नुपूर्व यहाँका नागरिकको प्रत्येक बिहान पानी बोक्नमै बित्ने गरेको भन्दै अब त्यो परिस्थितिको अन्त्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं १ का वडाध्यक्ष पेमा वाङग्याल लामाले पानी बोक्नकै लागि श्रम गर्नुपर्ने र बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। अ
ब आयोजनाको सुरक्षाको जिम्मा समुदायको भएको भन्दै वडाध्यक्ष लामाले अब उत्पादनमूलक काममा समय दिन नागरिकलाई आग्रह गर्नुभयो । सिद्धलेक गाउँपालिकामा पहिलो पटक यो लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएको वडाध्यक्ष लामाले बताउनुभयो ।
यो आयोजना निवर्तमान मुख्यमन्त्री जम्कटेलको पहलमा सम्पन्न भएको उहाँको भनाई थियो ।
लिफ्ट प्रविधि दिर्घकालिन हुने भएकाले वडा नं १ भित्र खानेपानीको समस्या रहेको स्थानमा आफ्नो कार्यकाल भित्र खानेपानी पुर्याउने लक्ष्य रहेको पनि बताउनुभएको छ ।
नयाँ वस्ती खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष मान बहादुर तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा माओवादी केन्द्र सिद्धलेक गाउँपालिका कमिटिका ईञ्चार्ज पुष्प थपलिया, माओवादी केन्द्र सिद्धलेक गाउँपालिका कमिटिका अध्यक्ष सम्झना पण्डित लगाएतले खानेपानी योजनाको संरक्षण गर्नुपर्ने बताएका थिए ।
लिफ्टमार्फत् पानी आएपछि पँधेरासम्म पुग्ने बाध्यता हटेको र स्वच्छ पानी पिउन पाएको स्थानिय राजु नेपालीले बताउनुभयो । ʿएक गाग्री पानीका लागि बिहान झिसमिसेमै पँधेरो पुग्नुपथ्र्यो ।
अलिकति ढिलो हुँदा पनि पानी भर्नेको लामो लाइन । पँधेरोमा पुगेर एक गाग्री पानी घरसम्म पु¥याउन तीन घण्टा बढी समय लाग्थ्यो, लिफ्टमार्फत् गाउँमा खानेपानी आएपछि समय बचत त भएकै छ त्यसैमाथि जोखिमपूर्ण तरिकाले गाग्री बोक्नुपर्ने बाध्यता पनि हटेको छ, नयाँ वस्ती खानेपानी योजना उपभोक्ता समितिकी कोषाध्यक्ष निर्मला विकले भन्नुभयो।’
आयोजना अन्तरगत थोपल खोला किनारमा ईनार खनि सोलार लिफ्ट मार्फत करिब तिन किलोमिटरमाथि बेलडाँडामा रहेको २५ हजार लिटर क्षमताको ट्याङकीमा खानेपानी ल्याइएकोे छ ।
यस आयोजना अन्तर्गत घरघरमा मिटर सहितको धारा जडान गरिएको छ । बागमती प्रदेशद्धारा बिनियोजित ८० लाखको लागतमा सम्पन्न उक्त आयोजनाबाट नयाँबस्तीका ६२ घरधुरी लाभान्वित भएका छन् ।