२०८२ जेष्ठ १९, सोमबार

राधिका दासी पोखरामा

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १६, शुक्रबार
राधिका दासी पोखरामा

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आउनुभएको छ ।

उहाँलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य स्वागत गरेका थिए ।

राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार(प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय भजन प्रतियोगिता समापनतर्फ
कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिताको समापन शनिबार हुनेछ । संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा तीन सय पाँच टिमले सहभागिता जनाएका छन् ।

शुक्रबारसम्ममा दुई सय ५२ टिमले आआफ्ना भजन प्रस्तुति राखिसकेको उहाँले बताउनुभयो । विभिन्न कारणले केही सहभागी टिम आउन नसकेको उहाँको भनाई छ ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख ५१ हजार पाँच सय पाँच, द्वितीय हुनेले दुई लाख ५१ हजार पाँच सय पाँच, तृतीय हुनेले एक लाख ५१ हजार पाँच सय पाँच र सान्त्वना स्थान हासिल गर्नेले ६५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

छ सय ५० युनिट रगत संकलन

कोटीहोममा आयोजित खुला रक्तदान कार्यक्रम जारी छ । हालसम्म छ सय ५० युनिट रगत संकलन भएको आयोजकले जनाएको छ ।

प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि कोटीहोममा सहभागीले रक्तदान गरेका हुन् । कोटीहोम समापन सम्ममा एक हजार बढी युनिट रगत संकलन हुने अपेक्षा गरिएको छ ।

शिवको मूर्ति र शिवलिङ्ग आकर्षण

कोटीहोममा सहभागी हुने भक्तजनको आकर्षणको केन्द्रविन्दु विशाल शिव मूर्ति र शिव लिङ्ग हुने गरेको छ । यसमा भक्तजनको मात्र होइन धेरैको ध्यान खिचेको छ । शिव मूर्ति र शिव लिङ्गको अगाडि बसेर फोटो खिच्नेको भिड नै लाग्ने गरेको छ ।

सामाजिक सञ्जालमा पनि शिव मूर्ति र शिव लिङ्गको धेरैले प्रशंसा गरेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । शिव लिङ्ग एक करोड थान रुद्राक्षबाट बनाइएको छ ।

यस प्रकारको शिव लिङ्ग अन्यत्र कहीँ पनि नबनेको आयोजकको दावी छ । शिवमूर्ति निकट भविष्यमा स्याङ्जामा राख्ने तयारी भइरहेको छ ।यस्तै एक सय हवन कुण्डले पनि भक्तजनको ध्यान खिचेको छ ।

भक्तजनको संख्या १५ लाख बढी, शनिबार तीन लाख आउने अपेक्षा

प्रचार-प्रसार संयोजक ढकालका अनुसार कोटीहोममा हालसम्म १५ लाख बढी भक्तजन सहभागी भएका छन् । कोटीहोम समापनतर्फ उन्मूख भइरहँदा भक्तजनको सहभागिता बढ्दै गइरहेको छ । कोटीहोममा बिहीबार दुई लाख र शुक्रबार एक लाख २० हजार भक्तजन सहभागी भएको उहाँको दावी छ ।

शनिबार करिब तीन लाख भक्तजन आउने सहभागी हुने अपेक्षा गरिएको छ । शनिबार बिदाको दिन र राधिका दासीको प्रवचन शुरु हुने भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ ।

संयोजक ढकालले पोखरामा आयोजित कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्न सफल भएको बताउनुभयो । कोटीहोममा भारतबाट नै गाडी रिजर्भ गरेर हजारौँ भक्तजन आएको उनको भनाइ छ । संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् ।

शुक्रबार जगत गुरु शंकराचार्य माता हेमानन्द गिरिजी महाराज, पूर्वमन्त्री मेटमणि चौधरी र शेरबहादुर कुँवरलगायत सहभागी थिए ।

अधिकारीको शंखघोष

कोटीहोममा बिहीबार हिन्दूराष्ट्रको शंखघोष गरिएको थियो । पोखरा-१७ महतगौँडा, सीतापाइलास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरका गुरु कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गर्नुभएको हो । योसँगै कोटीहोममा एक सय कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।

शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । साथै कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका हुन् ।

कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

धादिङलाई २० पदक

खोजी गर्नुहोस