सातदोबाटो । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मा अवस्थित त्रिभुवन माविमा बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम मंगलबार सातदोबाटोमा सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो ।
मंगलबार सम्पन्न भएको कार्यक्रममा वडा नं ५ मा अवस्थित त्रिभुवन माविका ४१ जना र वडा नं २ मा अवस्थित जनज्योति माविमा ७३ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
दुबै बिद्यालयमा भएको अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान , बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियोे ।
अनुशिक्षण कार्यक्रममा किस्पाङ गाउँपालिका वडा नं २ का वडाध्यक्ष बद्री प्रसाद देवकोटा, महिला बालबालिका तथा जेष्ठ नागरिक तथा सुचना प्रविधी अधिकृत मोतिमाया तामाङ, कार्नेट नेपालका परियोजना अधिकृत रमेश तामङ, फिकुनी प्रहरी चौकी प्रमुख गणेश बहादुर अधिकारी ,बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको मोतिमाया तामाङले जानकारी दिनु भयो ।
कार्यक्रम सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने , अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका पनि अधिकृत तामाङले जानकारी दिनुभयो ।