२०८२ जेष्ठ ३१, शनिबार

प्रभावकारी बन्दै बेनिघाट रोराङको अध्यक्षसंग अभिभावक कार्यक्रम

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ३०, शुक्रबार
प्रभावकारी बन्दै बेनिघाट रोराङको अध्यक्षसंग अभिभावक कार्यक्रम

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले अध्यक्षसंग अभिभावक कार्यक्रम सञ्चालन गरिरहेको छ ।विद्यालय शिक्षालाई प्रभावकारी बनाउन गाउँपालिकाले अध्यक्षसँग अभिभावक अभियान सञ्चालन गरिरहेको छ ।

अभिभावकहरुसँग टोलमै र विद्यालय परिसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन, बालविवाह लगायतका कुरितिका विरुद्ध लाग्न प्रेरित गर्ने उद्देश्यले अध्यक्षसंग अभिाभावक कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष कष्णबहादुर थपलिया (विवके) ले  जानकारी दिनुभयो ।

अभियान अन्तरगत मंगलबार वडा नम्बर १ मा रहेको बाँसखर्क माविमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे, वडा अध्यक्ष लगायतको सहभागिता थियो ।

बेलुकीको खाना खाएपछि जम्मा भएका अभिभावकहरुले विद्यार्थीले प्रस्तुत गरेको साँस्कृतिक कार्यक्रम हेरेपछि गाउँपालिका अध्यक्ष थपलियाको सन्देश सुनेका थिए ।

अध्यक्ष थपलियाले विद्यालयमा अभिभावकहरुले नियमित हेर्नु पर्ने, बालबालिकालाई कुलतमा फस्न दिन नहुने, नियमित विद्यालय पठाउनु पर्ने, बालविवाह, बहुविवाह विरुद्ध लाग्नु पर्ने, नियमित बालवालिकालाई विद्यालय पठाउनुपर्ने सन्देश दिँदै विकासको प्रमुख आधार शिक्षा भएकोले एक जनाले पनि पढाइ छाड्न नहुने बताउनुभयो ।

गाउँपालिका कार्यालयको काम सकिएपछि गाउँ पुगेको अध्यक्षसहितको टोलीलाई अभिभावक र विद्यार्थीले गितसंगितबाट स्वागत गरेका थिए ।

हालसम्म ८ वटा वडामा यस अभियान सञ्चालन भएको र बाँकी वडामा गर्दै जाने र यस कार्यक्रमलाई निरन्तरता दिईने सूचना अधिकारी घिमिरेले बताउनुभयो ।कार्यक्रममा अभिभावकहरुलाई अभिभावक र विद्यार्थीले पालना गर्नु पर्ने नियम तथा आचरण सम्बन्धी २१ बुँदे प्रतिवद्धता गराइने गरिएको बताउनुभयो ।

विशेषगरी भौगोलिक विकटता, चेतनाको अभाव, गरिबी र कुपोषणले प्रभावित अति सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी अभियान सुरु गरिएको गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुयो ।

खेतीपाती र अन्य दैनिक कामको व्यस्तताका कारण दिउँसो अभिभावक भेट्न कठिन हुने भएकाले अभियान साँझको समयमा सञ्चालन गरिएको र गाउँपालिकाको नियमित सेवा प्रवाहमा अवरोध नपु¥याउने र अभिभावकहरूलाई सहज रूपमा भेटेर सवाद गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले बताउनुभयो ।

गाउँपालिकाले अभियानलाई प्रभावकारी बनाउन परम्परागत भाषणमुखी शैलीलाई परिवर्तन गर्दै संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत शिक्षा सम्बन्धी सन्देश प्रवाह गरिने नीति अपनाएको छ ।

सुरुको चरणमा अभिभावकहरुलाई वडामा पुगेर भेटिएपनि अब भने टोलटोलमा पुग्ने कार्यक्रम रहेको र अभिभावकका समेत कुरा सुन्ने समेत योजना रहेको जनाइएको छ ।

गाउँपालिकाले हाल अभिावक विहिन बालबालिका भएमा, वा अन्य कारणले पढ्न नसक्ने भएमा पालिकाले छात्राबासमा राखेर अध्ययन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस