धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले बागमति प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि पेश गरेको बजेटविरुद्ध खेद प्रस्ताव पारित गरेको छ।
शुक्रबार सदरमुकाम धादिङबेशीमा भएको नगरपालिकाको चालु १७ औं नगरसभाको दोस्रो वैठकमा नगर प्रमुख भिमप्रसाद ढुगाँनाले पेस गरेको खेद प्रस्ताव सर्वसहमतिले पारित गरेको हो।
प्रदेश सभामा प्रस्तुत बजेट स्थानीय सरकारले नितिगत रुपमा पेश गरेको योजना कार्यक्रमलाई भन्दा व्यक्ति र पहुँच पुगेकालाई वितरण गरिएकोले खेद प्रस्ताव पारित गर्दै बजेट सच्याउन माग गरिएको नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका नगर प्रमुख भिम प्रसाद ढुंगानाले बताउनुभयो ।
देशको समग्र सन्तुलित विकास एवं संघीयताको मूल मर्म विपरित, व्यक्ति र पहुँच केन्द्रीत तथा अनुत्पादक र असन्तुलित देखिएकोले बजेट परिमार्जनका लागि नगरसभाले गम्भीर ध्यानाकर्षण भएको बताउँदै खेद व्यक्त गरेको ढुंगानाले जानकारी दिनुभयो ।
खेद प्रस्तावमा संघीय शासन प्रणालीको मूल मर्म समावेशिता, क्षेत्रीय सन्तुलन र समान अवसरलाई कमजोर पार्ने ढाँचामा बजेट निर्माण हुनु अत्यन्त दुःखद भन्रदै खेदजनक भएको प्रस्तावमा उल्लेख छ ।
नीति तथा दोस्रो आवधिक योजनालाई वेवास्ता गरेको, गाउँपालिका र नगरपिलकाहरूबाट प्रस्ताव गरिएका योजनाहरूमा पूर्णतः बेवास्ता गरिएको उल्लेख छ।
सभाले असन्तुलित र व्यक्ति र जिल्ला केन्द्रित बजेटप्रति गम्भीर आपत्ति प्रकट गर्दै, संवैधानिक मूल्य र समान विकासका सिद्धान्तहरूको पालना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै नीति निर्माण एवं बजेटमा पारदर्शिता, समावेशिता, र न्यायपूर्ण वितरणमा केन्द्रीत हुन माग गरेको छ।
यस्तै नगरसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरेको छ ।
नगरपालिकाले असार ६ गते सम्पन्न नगरसभामा कुल रु एक अर्ब २२ करोड ९३ लाख ५ हजारको बजेट सार्वजनिक गरेको थियो।
बजेट विवरण अनुसार, चालु खर्चतर्फ रु ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ रु ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ।
बजेटमार्फत नगरपालिका सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माणको योजना अघि सारेको छ।