धादिङ । पृथ्वी राजमार्ग अन्तरगत गजुरी गाउँपालिका–२ फुर्केखोलामा सडक दिशासूचक संकेतचिन्ह (Road Direction Signboard) नयाँ रूपमा पुनःस्थापना गरिएको छ ।
धादिङको सिद्धलेक गाउँपालिका–१ पिपलनलाङका युवा सौगात थपलिया र भक्तपुरका सन्दीप खड्काको व्यक्तिगत पहल र लगानीमा यात्रु तथा सवारी चालकहरूका लागि मार्गनिर्देशन दिने सडक दिशासूचक संकेतचिन्ह निर्माण तथा पुनः स्थापनाको कार्य सम्पन्न भएको हो ।
यसअघि त्यही स्थानमा रहेको संकेतचिन्ह च्यात्तिएको अवस्थामा थियो ।
अहिले सामाजिक कार्यमा सक्रिय रहेका युवाहरुको पहलमा सो संकेतचिन्हलाई पुनः निर्माण गरी आकर्षक र स्पष्ट रूपमा टाँसिएको छ ।
बिहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरी र सडक विभागको समन्वयमा संकेतचिन्ह राखिएको हो ।
फुर्केखोलाको मुख्य सडकमा राखिएको उक्त संकेत चिन्हमा काठमाडौबाट आउने तर्फ धादिङ (१८ कि.मि.) , नारायणगढ (७७ कि.मि.), मुग्लिङ (४० कि.मि.) र पोखरा (१३३ कि.मि.) उल्लेख गरिएको छ भने काठमाडौ जानेतर्फ त्रिशुली (४४ कि.मि.), काठमाडौँ (६४ कि.मि.), जिरी (२४७ कि.मि.) र कोदारीसम्मको दूरी १८३ किलोमिटर उल्लेख गरिएको छ ।
संकेतचिन्हमा नेपाली र अंग्रेजी भाषामा रातको समयमा पनि देखिने गरी स्पष्ट अक्षर र सेतो रंगको अगाडि दिशातर्फ देखाउने ठूला तीर चिह्न (Arrow) समावेश गरिएको सौगात थपलियाले धादिङ आवाजलाई बताउनुभयो ।
पहिले संकेतचिन्ह च्यातिएर बेवारिसे बनिरहेको अवस्थामा यात्रुहरूलाई सहज मार्गनिर्देशन प्रदान गर्न तथा यात्रुलाई गन्तव्यको दुरी जानकारी दिन स्वेच्छाले अगुवाइ गरी २० हजार लागतमा पुरानै स्थानमा नयाँ संकेतचिन्ह स्थापना गरिएको सन्दीप खड्काले बताउनुभयो ।
स्थानीयवासीहरूले यी दुई युवाहरुको सामाजिक उत्तरदायित्व भावनालाई स्वागत गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज श्रेष्ठले यो कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस्ता व्यक्तिगत र सामुदायिक प्रयासहरूमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सामान्यतः सरकारी तहबाट गरिनुपर्ने यस्तो कार्य, व्यक्तिगत पहलमा गरेर देखाउनु सकारात्मक सोच र जिम्मेवार नागरिकको उत्कृष्ट उदाहरण भएको बताउनुभयो ।
सौगात थपलियाले यसअघि सिद्धलेक गाउँपालिका–१ नलाङस्थित श्री नलाङ माध्यमिक विद्यालयलाई पोडियम र विद्यालयका ६५ जना विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउनुभएको थियो ।
थपलियाले आफुले अध्ययन गरेको विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार ६५ जना विद्यार्थीहरूलाई पोशाक (ट्रयाक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गर्नुभएको हो ।