२०८२ श्रावण १५, बिहिबार

आज नागपञ्चमी

  • धादिङ आवाज
  • २०८२ श्रावण १३, मंगलबार
आज नागपञ्चमी

आज नागपञ्चमी,प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ ।

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलका अनुसार उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने छ।

आज देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मानिन्छ ।वैदिक ग्रन्थमा १२ प्रकारका नागहरुको व्याख्या गरिएकोछ ।

अनन्त, वासुकी, शेष, पधद्म, कम्बला, कर्कोटक, अश्वभतरा, धृतराट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला गरी १२ प्रकारका नागहरूको पूजा गर्ने गरिएको छ ।

यसदिन विशेष रुपमा नागको पूजा गर्नाले हरेक प्रकारका दुख, कष्ट समाप्त भई राहु र केतु ग्रहबाट पर्नगएको नागदोष तथा पितृ दोष पनि शान्ति हुने विश्वास छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस