काठमाडौँ । आज साउन १५ गते खीर खाएर मनाइँदै छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो।
दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।
साउन भगवान् शिवको महिना हो। धर्मशास्त्रविद् भट्टराईका अनुसार शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ।
यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने उहाँ बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन।संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा सनातन शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईको भनाई छ ।
यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्।
दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो।
अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा बनेको खीर बनाउँछन्। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक मान्यता छ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस’, भनी खीरलाई परिभाषित गरेको छ।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहेको छ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।
दूध प्रशस्त हुने भएकाले असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने चलन नेपाली संस्कृतिको अङ्ग नै बनेको छ।
आज देशभर करिब ८० लाख लिटर दूध खपत हुने र करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।हाल देशभर दैनिक ७२ लाख लिटर दूध उत्पादन हुने गरेको छ।