२०८२ श्रावण २५, आईतबार

फैलियो लम्पी स्किनको संक्रमण

  • धादिङ आवाज
  • २०८२ श्रावण २२, बिहिबार
फैलियो लम्पी स्किनको संक्रमण

काठमाडौँ । धादिङसहित २९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ।

हालसम्म २९ जिल्ला लम्पी स्किन रोगबाट प्रभावित भएको र सबैभन्दा बढी प्रभावित कोशी प्रदेशका ११ जिल्लामा यो रोग फैलिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मधेसका ८, बागमतीका ५, गण्डकीको १, लुम्बिनीका ३ र कर्णालीको एउटा जिल्लाका पशुमा लम्पी स्किन रोग देखा परेको छ ।

गत असार ६ देखि साउन २० सम्म लम्पी स्किनको संक्रमणबाट २७ हजार ४२५ वटा पशु प्रभावित हुँदा ८४६ वटा पशु चौपाया मरिसकेका छन्।

सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म लम्पी स्किन रोगको संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

मधेसका सबै जिल्लामा फैलिएको लम्पी स्किन कोशीको संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा भने देखिएको छैन।

गण्डकीको गोरखा र कर्णालीको रुकुम पश्चिममा मात्र देखिएको छ।

बागमतीको मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन र धादिङ, लुम्बिनीको नवलपरासी पश्चिम, कपिलवस्तु र रोल्पामा लम्पी स्किन फैलिएको ।

लम्पी स्किन रोग गाई भैँसीमा विषाणुबाट लाग्ने अति संक्रामक रोग हो। पक्सभाइरिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातिको लम्पी स्किन डिजिज भाइरसका कारण अत्यधिक संख्यामा गाई भैँसीहरूमा संक्रमण गराउने सीमाविहीन पशु रोग हो।

यो एक प्रकारको भाइरस पक्स समूहको काप्रीपक्स भाइरस बाट गाई भैँसीहरू लाग्ने रोग हो। यो रोग भैँसीमा भन्दा गाईमा बढी देखिन्छ। पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रसीया, काजाकिस्तान हुँदै बंगलादेश र भारतमा पनि केही महिना अगाडि देखा परेको थियो।

सामान्यतया लामखुट्टे, झिँगा, किर्ना, भुसुनो आदिको टोकाइबाट सर्ने लम्पी सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत सर्छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस