धादिङ । सिद्धलेक गाउँपालिका-१ नलाङस्थित नलाङ माध्यमिक विद्यालयका ६५ जना विद्यार्थीलाई समाजसेवी तथा विद्यालयका पूर्वविद्यार्थी सौगात थपलियाले ट्रयाक-सुट वितरण गर्नुभएको छ ।
शुक्रबार शैक्षिक सत्र २०८२ को प्रथम परीक्षाको नतिजा प्रकाशन कार्यक्रमको अवसरमा थपलियाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि करिब ६५ हजार रुपैयाँ बराबरको व्यक्तिगत लगानीमा ट्रयाक-सुट सेट प्रदान गर्नु भएको हो ।
सोही कार्यक्रममा विद्यालयका अर्का पूर्वविद्यार्थी डम्बर प्रसाद सिलवाल (रमेश) ले आफ्ना स्वर्गीय पिता निल प्रसाद सिलवालको स्मृतिमा विद्यालयमा अध्ययनरत आर्थिक रूपले कमजोर, असहाय र जेहेन्दार २५ जना विद्यार्थीलाई ट्रयाक–सुटसहित खेलकुद सामग्री सहयोग गर्नुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद सिलवालले सहयोगकर्ताप्रति धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा यस्ता सकारात्मक योगदानले विद्यालय, विद्यार्थी र समुदायलाई थप हौसला प्रदान गर्ने बताउनुभयो ।
सिद्धलेक गाउँपालिका–१ पीपलनलाङ निवासी थपलियाले यसअघि पनि विद्यालयलाई एक थान पोडियम सहयोग गर्नुभएको थियो । सो अवसरमा विद्यालयले उहाँलाई सम्मान समेत गरेको थियो ।
सामाजिक कार्यमा सक्रिय थपलियाले भक्तपुरका सन्दीप खड्कासँग सहकार्य गर्दै पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा यात्रु तथा सवारी चालकका लागि मार्गनिर्देशन दिने सडक दिशासूचक संकेतचिन्ह नयाँ रूपमा पुनःस्थापना गर्नुभएको थियो ।